उदयपुर, भदौ ४ गते । सिन्धुलीको भिमानबाट उदयपुर कटारी, गाइघाट सुनसरीको चतरा हुँदै इटहरी निस्कने सडक सुचारु भएपछि यो मार्गमा पेडाको ब्यापार पनि फस्टाएको छ ।
पुर्वपश्चिम राजमार्गको स्तरोन्नती गर्ने काम भैरहेकाले सपतरीको बरमझियाका पेडा ब्यापारी समेत यो सडकतिर सरेका छन । खासगरी उदयपुरको चौदन्डीगढी नगरपालिका देखि बेलकासम्म सडकका दायाँ बायाँ पेडा पसल खुलेका छन ।पेडाको व्यापार नेपालमा विशेष गरी बरमझिया (सप्तरी) क्षेत्रसँग जोडिएको छ । यहाँ यो मिठाई एक स्थानीय ब्रान्डको रूपमा स्थापित भएको छ।
बरमझियाको पेडा व्यापार
बरमझियाको ब्यापारको इतिहास करिब ८० वर्षको छ । बैजनाथ साहले झुपडीबाट पेडा पसल सुरु गरेका थिए। उनका बुबा अक्कल साह चिया पसल चलाउँथे, जहाँ दूधबाट पेडा बनाउने आइडिया भारत भ्रमणबाट ल्याइएको थियो।
अहिले बैजनाथ बाजेको पेडा नामले दर्जनौं पसल खुलेका छन्। असली पसल पहिचान गर्न उपभोक्तालाई मुस्किल पर्ने अवस्था छ। यसको व्यापारिक प्रभाव पूर्व–पश्चिम राजमार्गमा आवतजावत बढेपछि पेडाको माग देशभर फैलिएको छ। दैनिक लाखौंको कारोबार हुने गर्छ।
चुनौती
पेडा ब्यबसायीका अनुसार दूधको अभाव छ । भैंसीको दूधको कमीले उत्पादन घटेको छ। व्यापारीहरू सिरहा, सुनसरी, उदयपुर र भारतबाट दूध ल्याएर व्यापार धानिरहेको ब्यबासायी रामकमल साहले जानकारी दिए ।
दूधको अभावले गुणस्तरको समस्या छ । दूधको अभावले पेडाको शुद्धता र स्वादमा असर परेको छ। निरीक्षण त हुन्छ, तर गुणस्तरबारे रिपोर्ट सार्वजनिक हुँदैन।
यसको दशैं, तिहार, छठ जस्ता पर्वमा पेडाको माग अत्यधिक हुने उनले बताए । “यस्ता बेला व्यापार राम्रो हुने अपेक्षा गरिन्छ, तर आपूर्ति समस्याले असर पारिरहेको छ,उनले भने ।
