डा. चिन्तामणि योगी
हाम्रो यात्रा अनन्त छ, साँच्चिकै अनन्त छ । यो अनन्त यात्रामा एकदमै असीम आनन्दका साथ अनन्त भावका साथ हिँडिरहने हो । यो यात्रा नै मुक्ति हो । तर, आजको समाजमा मोक्ष र मुक्तिको नाममा मानिसहरू झन् बढी अल्मलिएका देखिन्छन् । कोही कर्तव्य र दायित्व त्यागिरहेका छन्, कोही धर्मको मर्म नबुझेर अन्धकारमा फस्दैछन् । के यो नै वास्तविक मोक्ष हो? के मोह र मोक्षबीचको दूरी साँच्चै यति धेरै छ, वा यो केवल हाम्रो मनको खेल हो ?
यो यात्रामा हिँड्दै जाँदा कति अहंकार बाँकी रहला र ? कति स्वार्थ बाँकी रहला र ? कुनै संस्थाको बढी माया होला र ? कुनै ठाउँको बढी माया होला र ? कुनै व्यक्तिविशेषसँग, वस्तुविशेषसँग, संस्थाविशेषसँग, कार्यविशेषसँग केही न केही मोह पनि होला र ? त्यो सब मोह पनि त क्रमशः छुट्नुप¥यो। ज्ञानादेव क्रमशः ज्योतिर्मय हुँदै जानुप¥यो। त्यो सबै छुटेपछि यात्रामा हिँड्दै जाँदा कतै कुनै संकोच रहेन, आसक्ति रहेन, नकारात्मकता रहेन, अहंकार रहेन भने जीवनमै मोक्ष भइहाल्यो नि । मोह र मोक्षबीच दूरी पनि के पो छ र ? सबै उही आफ्नै मनकै खेल त हो नि । मनले नै मोह छ, संसार छ र फेरि उही मनले नै मोक्ष छ, ईश्वर यो ।
यात्रा नै मुक्ति ः अनन्त चेतनाको पथ
यात्रा नै मुक्ति हो । तर यस्तो चेतना यात्रा जुन अनन्त होस्, जुन यात्राको कुनै मन्जिल पनि नहोस् । यात्रा आफैँमा मन्जिल होस् । यात्रा आफैँमा साधन र साध्य होस् । यात्रा आफैँमा मार्ग र लक्ष्य पनि होस् । ‘बहुना जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते’ स्वतः सिद्धि होस् ।
विषय–वासनाको त्याग ः ऋषिको उपदेशको सही अर्थ
मुक्तिकै सम्बन्धमा अझ गम्भीर चिन्तन गर्दै जाँदा हाम्रा ऋषिहरूका सुन्दर उपदेशलाई जतिजति अनुशरण गरिन्छ, उत्तिनै लाभ हुन्छ । स्पष्ट रूपमा भनिएकै छ ‘विषयान् विषवत् त्यज’, अर्थात् विषयहरूलाई विष समान सम्झेर त्याग गर । यहाँ कति सुन्दर विश्लेषण गरिएको छ भने, विषयहरूलाई त्याग गर भनेको छ ः व्यक्तिविशेषलाई त्याग गर भनिएको छैन । समाजलाई, राष्ट्रलाई, विश्वलाई पनि त्याग गर भनेको छैन । कुनै दायित्व, कर्तव्यलाई त्याग गर पनि भनेको छैन, तर विषय–वासनालाई त्याग गर भनेको छ । जतिजति विषय–वासना बढ्छ, जीवन उत्तिनै विषममय बन्छ । किनकि जतिजति विषयवस्तुप्रति आसक्ति बढ्छ, त्यही आसक्तिबाट क्रमशः आक्रोश बढ्छ । र त्यही आक्रोशबाट क्रमशः अहंकार बढ्छ र अनि त्यही अहंकारबाट क्रमशः व्यक्तिको सम्पूर्ण जीवन नष्ट हुन्छ ।
यहाँ विचित्रको कुरा के छ भने, विषय–वासनालाई त्याग गर्ने जुन ऋषिहरूको उपदेश हो, आदेश हो, त्यसलाई सही तरिकाले बुझ्न नसकेर वा बुझ्न नचाहेर आफ्नो कर्तव्य र दायित्वलाई त्याग गर्नेहरूको संख्या समाजमा आजभोलि बढ्दै गएको देखिन्छ । त्याग न त वस्तुको हो, न कुनै कर्तव्यको हो, न कुनै व्यक्तिको हो, न कुनै घर–परिवारको हो ।
त्याग मूलतः वासनाको हो, विषय–वासनाको हो, स्वार्थको हो, व्यक्तिवादको हो, अहंकारको हो, अनन्त, अतृप्त, इच्छा र कामनाहरूको हो। त्यसकारण, मुक्तिका नाममा घर–परिवार छाडेर, सामाजिक दायित्व छाडेर, विश्वकल्याणका पवित्र संकल्प सेवा छाडेर होइन । केवल भजनको नाममा वा केवल ध्यानको नाममा वा केवल पहेँलो लुगा लगाएर कतै कुनै परिवर्तन हुँदैन है, कतै कुनै प्राप्ति हुँदैन है भन्ने बारेमा हामी स्पष्ट हुन सक्नुपर्छ । यसरी स्पष्ट हुन सकेनौँ भने मुक्तिको नाममा हामी आफू पनि अन्धकारको दलदलमा फस्छौँ र अरूलाई पनि अन्धकारको दलदलमा फस्न प्रेरित गर्छौँ ।
राजर्षि जनक र ऋषि अष्टावक्रको संवादः ज्ञानको गहिराइ
राजर्षि जनक र ऋषि अष्टावक्रको जुन सुन्दर संवाद अष्टावक्र गीतामा छ, त्यो विश्वको एक अनुपम संवाद हो । बीस अध्यायमा बाँडिएको यस सानो ग्रन्थमा हाम्रै नेपालका राजर्षि जनक प्रश्न गर्छन् भने आठ ठाउँबाट बाङ्गोे शरीर भएका ऋषि अष्टावक्र उत्तर दिन्छन् । ज्ञानको साधना वा ब्रह्मको साधनाका लागि जिज्ञासु श्रद्धालुका लागि यो अष्टावक्र गीता अत्यन्तै मननीय ग्रन्थ हो ।
मोक्ष भनेको गरिने प्रक्रिया हो र ? वा पूर्णताका लागि घटित हुने कुनै अवस्था हो? मोक्ष कुनै पृथक् यात्रा हो र? वा धर्म, अर्थ, कामकै परिशीलन गर्दै जाँदा स्वतः प्राप्त हुने कुनै विशेष महान् परिवर्तन हो? मोक्षको प्राप्ति भनेको अर्थोपार्जन छाडिदिने हो र? काम (उपभोग) छाडिदिनु हो र? विश्वसँगको सम्बन्ध छाडिदिनु हो र? वा सम्बन्धहरूलाई सही अर्थ र दिशा प्रदान गर्दै आफू स्वयं संयमित बन्दै, सजग बन्दै, समुन्नत बन्दै, श्रद्धावान् बन्दै, समर्पित बन्दै अन्त्यमा रूपान्तरित हुने हो? मोक्षको यही सहज प्रक्रियालाई बुझ्न नसक्दा पनि धेरै मानिसहरू झन् बढी अल्मलिएका छन् कि भनेर प्रश्न पनि गर्न सकिन्छ। गीतामा अर्जुनले ’न कांक्षे विजयं कृष्ण न च राज्यं धनानि च’ भनेर गाण्डीव विसाएको भए के त्यो मोक्ष हुन्थ्यो र? सिद्धार्थले अब त ज्ञान प्राप्त गर्न सकिन्न, मुक्ति हुँदैन भनेर शरीर विसर्जित गरिदिएको भए के त्यो मोक्ष वा निर्वाण हुन्थ्यो र ?
वर्तमानको दुर्दशा र साँचो मार्ग
अहिले समाजमा अधिकांश व्यक्तिहरू धर्मविमुख तामसी जीवन बिताइरहेका देखिन्छन् भने केही व्यक्तिहरू धर्मको मर्म नबुझ्दा झन् अल्मलिएका पनि छन् । उनीहरू ’न माया मिली न राम’ भन्ने अवस्थामा पुगेका छन्। झन् त्यसमा पनि केही सीमित व्यक्तिहरू त सत्शास्त्र ज्ञानको अभावमा, सत्गुरुको अभावमा, सत्चिन्तन र साधनाको अभावमा तथा सत्संगको अभावमा गहन अन्धकारमा फस्दै गएका छन् । आफ्नो परिवार, समाज र विश्वलाई पनि अन्धकारमै धकेलिरहेका छन् ।
तसर्थ, ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ को साधना गरौँ ।’ ऋते ज्ञानान्न मुक्तिः’ लाई बुझौँ । सहज रूपले आश्रम व्यवस्थाको परिपालन गर्दै मोक्षरूपी पुरुषार्थ प्राप्त गरौँ । ‘हाँसिबा खेलिबा धरिबा ध्यानं’ सहित जीवनलाई सार्थक बनाऔँ । ‘सहजै सहजै चलेगा रे अवधू’ भन्ने आदेशानुसार सहज मोक्ष साधनामै रम्दै जाऔँ ।
