Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना
    बहस

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेसवेदान्त प्रेस३ हप्ता अगाडि26 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ​

    समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी पुस्तकका सर्जक दामोदर न्यौपाने पछिल्लो समय शिक्षा, बाल-मनोविज्ञान र अभिभावक शिक्षाको अभियानमा सक्रिय हुनुहुन्छ। बालबालिकालाई दण्ड र भयले होइन, माया र सही काउन्सिलिङले हुर्काउनुपर्छ भन्ने मान्यता राख्ने न्यौपानेले भर्खरै दुर्गम मानिने डोल्पा पुगेर शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रशिक्षित गर्नुभएको छ।

    ​प्रस्तुत छ, कार्यक्रम ‘सत्य संवाद’ का लागि सञ्चारकर्मी अनीता थापामगर ले न्यौपानेको कर्णाली अनुभव, बालबालिकामा बढ्दो मानसिक समस्या, संस्कारयुक्त शिक्षा र योग-अध्यात्मको महत्त्वमा केन्द्रित रहेर गरिएको यो विशेष कुराकानीको पूर्ण पाठ:

    ​अनीता: नमस्कार आदरणीय दर्शकवृन्द! कार्यक्रम ‘सत्य संवाद’ लिएर यहाँहरूको माझमा उपस्थित भइसकेका छौं। म छु अनीता थापामगर। विशेषगरी सत्य, सोच र परिवर्तनको आवाज—कार्यक्रम ‘सत्य संवाद’मा हामी छौं। समाजमा केही न केही योगदान दिइरहनुभएका व्यक्तित्वहरूसँग, त्यति मात्र नभएर अध्यात्मको क्षेत्रमा, राजनीतिक क्षेत्रमा लागेर पनि राम्रो काम गर्नुभएका व्यक्तिहरूसँग हामीले विशेष कुराकानी गर्नेछौं।

    ​जसअन्तर्गत आज हामीसँग हुनुहुन्छ—विशेषगरी उहाँ लामो समय करिब दुई दशकभन्दा पनि बढी समय पत्रकारिताको क्षेत्रमा, ठूला मिडियाहरूको क्षेत्रमा काम गर्नुभयो र त्यति मात्र नभएर पछिल्लो समय दाइको धेरै पुस्तक, करिब १९ ओटा पुस्तक पनि बजारमा आइसकेको छ। उहाँले बालबालिकाको क्षेत्रमा, अभिभावकको क्षेत्रमा, त्यसैगरी पत्रकारिताको क्षेत्रमा पनि पुस्तकहरू लेख्नुभएको छ। पुस्तक मार्फत उहाँले समाजमा घटेका, समाजका विकृति विसंगति देखि लिएर समाजमा भएका सकारात्मक पक्षहरूलाई उतार्नुभएको छ। आज हामी यस्तो व्यक्तित्वसँग कुराकानी गर्नेछौं, जसले तपाईंहरूलाई पनि केही न केही सन्देश पक्कै दिनेछ।

    ​आज हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार तथा सर्जक, अहिले शिक्षाको क्षेत्रमा उहाँको लामो अनुभव पनि रहेको छ—आदरणीय दामोदर न्यौपाने दाइ हुनुहुन्छ। म चाहिँ उहाँलाई दाइ नै भनेर सम्बोधन गर्छु किनकि लामो समय दाइ र मेरो करिब पाँच-सात वर्षदेखिको एउटा चिनजान, एउटा आत्मीयता हामीबीचमा छ। हस् दाइ, धेरै-धेरै स्वागत छ हजुरलाई।

    ​दामोदर: धन्यवाद, नमस्कार!

    ​अनीता: करिब-करिब एक वर्ष भयो नभेटेको, दाइ-बहिनीको?

    ​दामोदर: अ, भयो, लगभग भयो।

    ​अनीता: भेट्न खोज्दा पनि… हुन त पहिला तपाईं रामेछाप हुँदा भेट भै रहन्थ्यो बरू । काठमाडौं आएसी भेट पातलो भयो ।

    ​दामोदर: हो, ‘रामेछाप हुँदा हाम्रो भेट भइराख्थ्यो।

    ​अनीता: एकदम धेरै भेट हुन्थ्यो, तर अहिले काठमाडौं आइसके पछाडि चाहिँ दाइ र मेरो भेट हुन पनि एकचोटि मात्र भयो है दाइ?

    ​दामोदर: यसको कारण चाहिँ भोलि भेटौँला, यी नजिकै हो, भरे भेटौँला, छँदै छौँ नि भन्ने हो। उताबाट आउँदा चाहिँ उताबाट आएर भेट्टै दाइलाई नभेटी कसो जानु त भन्ने पनि हुन्थ्यो होला, त्यसले।

    ​अनीता: दाइ, एकदम धेरै खुसी पनि लागिरहेको छ। कहाँबाट सुरु गरौँ-गरौँ पनि भइराखेको छ। जस्तो हजुरले शिक्षाको क्षेत्रमा विशेषगरी अभिभावक, बालबालिकाको लागि हजुरले तालिमहरू दिइरहनुभएको छ। अभिभावक शिक्षा, बालबालिकाको लागि पनि अहिले पछिल्लो समय हजुरले धेरै कार्यक्रमहरू गरिरहनुभएको छ। अस्ति भर्खरै हजुर कर्णाली प्रदेश पनि पुगेर आउनुभयो। त्यहाँ गएर तपाईंले कार्यक्रमहरू पनि गरेको देखियो दाइ। खास के हो, थोरै बताइदिनुस् न?

    ​दामोदर: खासमा चाहिँ म यो शिक्षा, सिकाइ, बालबालिका, बाल-व्यवहार, बाल-मनोविज्ञानमा चाहिँ लामो समयदेखि काम गर्दै आइरहेको छु। विगतमा पनि म कान्तिपुरको बालकोसेली ‘कोपिला’को एडिटर थिएँ, लगभग आजभन्दा १५ वर्ष अगाडिदेखि यता। त्यो क्रममा नै म शिक्षा, शिक्षक, अभिभावक, बालबालिकाको बीचमा गएर हाम्रो शिक्षाको समस्याहरू के हो, सिकाइको समस्या के हो र बालबालिकाको हाम्रो अवस्था, रियल अवस्था कस्तो छ भनेर म लामो समयदेखि लाग्दै आएको छु। र त्यही क्रममा चाहिँ त्यसैको अर्को सिलसिला हो, म चाहिँ भर्खरै डोल्पाको जगदुल्ला गाउँपालिकामा चाहिँ शिक्षक, अभिभावक र विद्यार्थी—यो तीनओटै पक्षलाई मैले प्रशिक्षण दिएर आएँ।

    ​र मेरो त्यसमा एउटा के मान्यता छ भने शिक्षा राम्रो हुनलाई विद्यार्थी, शिक्षक र अभिभावक—यो तीनओटै कोणबाट चाहिँ काम हुनुपर्छ, तीनओटै पक्षबाट चाहिँ हेरिनुपर्छ र तिनीहरूको सशक्तीकरण मार्फत चाहिँ शिक्षामा सुधार ल्याउन सकिन्छ भन्ने चाहिँ मेरो एउटा भिजन छ। र त्यही भिजन अन्तर्गत म देशका विभिन्न ठाउँमा गइराखेको हुन्छु। त्यही क्रममा चाहिँ म डोल्पा गएको हुँ। त्यो चाहिँ मेरो कर्णाली प्रदेशको पहिलो अनुभव पनि थियो। म कर्णालीको राजधानी सुर्खेतसम्म त गएको थिएँ, तर सुर्खेतलाई कर्णाली भन्न मिल्दैन किनभने जुन कर्णालीको एउटा विम्ब छ, जुन एउटा कर्णालीको वास्तविकता छ, त्यो र यो तल हाम्रो सुर्खेतसम्मको चाहिँ मिल्दैन।

    ​र म चाहिँ यो हाम्रो कर्णाली भनेको चाहिँ अरू धेरैले चाहिँ यो पिछडिएको, विकट भन्ने चाहिँ एउटा विम्ब बनाए। र मेरो चाहिँ पहिलादेखि नै एउटा के मान्यता थियो भने कर्णाली भनेको सडकले विकट बनाएको हो, राजधानीसँगको सम्पर्कको हिसाबले विकट भएको हो, तर त्यहाँको सम्भावनाको हिसाबले, त्यहाँ पाइने प्राकृतिक स्रोत-साधनको हिसाबले कर्णाली चाहिँ एउटा सुनको खानी हो भन्ने चाहिँ मेरो पहिलादेखिको मान्यता थियो, हो पनि त्यही। र त्यो चाहिँ सुनको खानीलाई चाहिँ खानी मात्र भएर भएन, सुन तो निकाल्नुपर्यो। त्यो सुन चाहिँ कसरी निकाल्ने भन्दाखेरि त्यसका लागि आफ्नो ठाउँ चिन्ने योग्य जनशक्ति चाहियो, योग्य म्यानपावर चाहियो र त्यसको लागि चाहिँ त्यो म्यानपावर उत्पादन गर्ने भनेको ठाउँ त त्यही स्कुल हो, त्यही बालबालिका हो, त्यही शिक्षक हो, त्यही अभिभावक हो। त्यसैले त्यो कर्णालीको एउटा समृद्धि के हो भनेर चिनाउने पनि प्लस त्यसका लागि हाम्रो शिक्षालाई कसरी चाहिँ गुणस्तर वृद्धि गर्ने भन्ने हिसाबले चाहिँ म त्यहाँ गएको हुँ।

    ​र त्यहाँको जगदुल्ला गाउँपालिकाले नै मलाई त्यहाँसम्म लग्ने एउटा व्यवस्थाहरू मिलाएको थियो। र त्यही अनुसार चाहिँ मैले शिक्षक, अभिभावक र विद्यार्थी—यो तीनओटै पक्षलाई चाहिँ मैले प्रशिक्षणहरू दिएँ। र त्यहाँ चाहिँ उहाँहरू अत्यन्त उत्साहित हुनुभयो, उहाँहरूमा मैले हुटहुटी जगाएँ। अहिले पनि आज बिहान पनि भिडियो कल गर्दै हुनुहुन्थ्यो—तपाईंले चाहिँ हाम्रो ठाउँमा एकदम मोहनी लगाएर चाहिँ जानुभएको छ, तपाईंलाई अर्को वर्ष पनि हामी यहाँ जसरी पनि ल्याउने योजना बनाइराखेका छौँ भनेर उहाँहरूले बिहान भिडियो कल गरेर चाहिँ मलाई कुराहरू गर्दै हुनुहुन्थ्यो। मैले यो किन जोड्या भन्दाखेरि हाम्रो शिक्षामा कस्तो शिक्षा हुनुपर्छ, अब गर्नुपर्ने के हो र अहिले चाहिँ हामी अवस्था के छ भनेर मैले रिसर्च सहित… मेरो १९ ओटा किताबहरू जुन आए, त्यसमा तीन-चार ओटा जति चाहिँ बालकथाका किताबहरू छन्, त्यो बालकथा नै मैले रिसर्च बेसमा लेखेको हुँ। त्योभन्दा बाहेक मेरा सबै किताबहरू चाहिँ अनुसन्धानमा आधारित किताबहरू हुन्।

    ​यो चाहिँ मैले शिक्षामा यो सम्पूर्ण खाडलहरू चाहिँ शिक्षाले मेट्नुपर्ने हो। तर हाम्रो शिक्षा चाहिँ दुईथरी छ, खाडल बढाउने किसिमको छ। हुनेखानेले एक किसिमको शिक्षा पाइराखेका छन्, नहुनेहरूको शिक्षा अर्को थरीको छ। यो चाहिँ शिक्षामा भइरहेको खाडल चाहिँ कसरी पुर्ने भन्ने चिन्तनले चाहिँ म यसरी देशव्यापी रूपमा दौडेको हो, त्यही क्रममा चाहिँ म कर्णाली गएँ।

    ​अनीता: दाइ, जस्तो हजुरले विद्यार्थी, अनि शिक्षक, अनि अभिभावक चाहिँ एउटा एकरूपता हुनुपर्छ भन्नुभयो नि दाइ। जस्तो शिक्षा राम्रो बनाउनको लागि शिक्षक, बालबालिका र अभिभावक बीचमा कस्तो सम्बन्ध हुनुपर्छ?

    ​दामोदर: एकदम त्यो सम्बन्ध एकदम त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ। विद्यार्थी सिक्न तत्पर हुनुपर्छ। अभिभावक उसलाई विद्यालय पठाउनदेखि लेकर उसको सम्पूर्ण व्यवस्थापन गर्न तयार हुनुपर्छ। र शिक्षक चाहिँ सिकाउन तयार हुनुपर्छ। यो तीनओटै पक्ष यसरी मिलेन भने यो हुँदैन। जस्तै बालबालिका अथवा विद्यार्थीहरू पढ्न तयार हुनै पर्छ। यदि उनीहरूले सिक्न तत्परता देखाएनन् भने त्यो सिकाइ सिकाइ जस्तो हुँदैन। किनकि त्यो घोटेर पियाउने कुरा होइन। र उसलाई चाहिँ कसरी चाहिँ सिक्ने, यो मैले किन सिक्ने भन्ने कुरा उसले चाहिँ जान्नुपर्छ।

    ​र हाम्रो यही अवस्थामा चाहिँ हाम्रा बालबालिकाहरू सिक्न तत्पर छैनन्। किनभने हाम्रा सिकाउने शैलीहरू सही छैनन्। र सिकाउने शैलीहरू सही भयो भने उनीहरू सिक्न तत्पर हुन्छन्। र अर्को चाहिँ अनि हाम्रो अभिभावकहरूमा एउटा के छ भन्दा मेरो काम स्कुल पठाइदिने हो, मेरो काम किताब-कापीहरू किन्दिने हो, उसको फी तिर्ने हो। पढ्ने काम उसको, पढाउने काम शिक्षकको र हामीले चाहिँ यो तनाव लिन जरुरी छैन भन्ने एक किसिमको शिक्षकहरूमा यो चिन्तन छ। र यो चिन्तन पनि चेन्ज गरेर जरुरी छ। र त्यसका लागि के गर्नुभयो भन्दा शिक्षक, अभिभावक र विद्यार्थीको महत्त्व अभिभावकहरूले पनि बुझ्नुपर्यो।

    ​स्कुल पठाएर मात्र होइन कि उसको सिकाइमा कत्तिको प्रगति भएको छ, त्यसको चासो अभिभावकहरूले राख्नुपर्छ। विद्यालय गएको छ, उ कस्तो पढेको छ, उसले के सिकेको छ, त्यो अभिभावकले चासो राख्नुपर्छ। र अर्को चाहिँ जस्तै अब शिक्षकले के गर्नुपर्छ भन्दाखेरि विद्यालय त आएको छ, तर विद्यालयमा सिकेको कुराहरू घरमा मनिटरिङ भएको छ कि छैन? स्कुलमा सिकेका कुराहरू घरमा अभ्यास भएको छ कि छैन? जस्तै अब उसले चाहिँ होमवर्कहरू गरेको छ कि छैन, होमवर्क गर्नुपर्छ। अहिले चाहिँ हामी यो होमवर्कको भयङ्कर बहस गरिराखेका छौँ, तर होमवर्क किन गर्ने भन्ने चाहिँ त्यो कुराहरू नसिकेर, हामीले नसिकाएर होमवर्क हाम्रा बच्चाहरूलाई, हाम्रा नानीबाबुहरूलाई, हाम्रा विद्यार्थीहरूलाई होमवर्क भारी भएको छ। त्यसलाई चाहिँ घरले नै भारी बनाएको छ, स्कुलले नै भारी बनाएको छ। मात्र यो होमवर्क गर्नुको दर्शन के हो भने एउटा काम गर्ने बानी पार्ने।

    ​विद्यार्थीको काम के हो त? हरेकका काम छन् नि, हरेकको स्वधर्म छ नि? विद्यार्थीको स्वधर्म भनेको पढ्ने हो, विद्यार्थीको स्वधर्म भनेको सिक्ने हो। अब उसलाई त्यो सिक्ने बनाउन चाहिँ एउटा माहोल बनाउने काम कसको हो भन्दा शिक्षक, अभिभावक। त्यसैले मैले यो ‘विद्यार्थीदाता’ भन्ने किताब लेखेँ। जस्तै जो विद्यार्थी चाहिँ पढ्न मान्दैन, जो विद्यार्थी स्कुल जान मान्दैन, जो विद्यार्थी चाहिँ होमवर्क गर्न मान्दैन। यो किन मान्दैन भन्दा यो त यो मेरो एकदम रिसर्चमै आधारित हो। विद्यार्थीहरू अहिले पढ्न खोज्दैनन्। हाम्रो पाला हामी एकदम दुःखका साथ, हामी एकदम संघर्ष गरेर हामी जसरी नि पढ्थ्यौँ। हामीलाई अभिभावकको डर थियो, पढ्छ कि पढ्दैन, अभिभावकको चासो त्यति मात्रै थियो, स्कुल गयो कि गएन। अब शिक्षकको पनि डर थियो, यो होमवर्क गरेन त पिटाई खाइन्छ, पढेन भनेपछि गाली खाइन्छ।

    ​त्यो बेला हिंसा भयङ्कर थियो। जस्तै मेरै साथीहरूलाई त्यो भुइँमा राखेर, धुलैधुलो भएको माटो भएको त्यसमा पानी खन्याएर त्यहाँ माथि सिस्नु लगाएर यातना दिएका थुप्रै घटनाहरू चाहिँ म सम्झिन्छु। र म चाहिँ त्यो हिंसामा परिनँ किनकि म राम्रो विद्यार्थी थिएँ, होमवर्क पनि गर्ने, पढ्ने पनि र कक्षाको उत्कृष्ट विद्यार्थी भएपछि त्यो शिक्षकले पनि हिंसा चाहिँ गर्नुहुन्नथ्यो। किनकि शिक्षकले नि के गर्या हो भने यो राम्रो बनोस् भनेर हिंसा गर्या हो। होइन, अब त हामीले बहस गर्न थाल्यौँ—हिंसा त वर्जित, हिंसा मुक्त गर्नुपर्छ भनेर लामो समय बहस, छलफल गर्नुको परिणाम स्कुलहरूमा हिंसा घट्दै गयो। घरमा पनि हिंसा घट्दै गयो। र बच्चालाई पढ्नुपर्छ भन्ने डर भएन। अलिकति डर चाहिन्थ्यो, किनकि डरले त सम्हालिन सिकाउँछ नि। हामीले भयले चाहिँ मान्छेलाई आतंकित बनाउँछ, आत्मविश्वास लूज गराउँछ, तर अलिकति डर भयो भने चाहिँ बालबालिकाहरू सम्हालिन सिक्छन्।

    ​र उनीहरूलाई चाहिँ अब हिंसाको डर भएन। तर केको डर अब हुनुपर्यो नि—करियरको डर हुनुपर्यो। भोलिका दिनमा चाहिँ त्यो प्रगति त गर्नुपर्यो नि। एउटा मनोवैज्ञानिक काउन्सिलिङहरू उनीहरूलाई त्यो गर्नुपर्ने हुन्छ—कुन उमेरमा भन्दा सात-आठ वर्षदेखि चाहिँ करियर काउन्सिलिङ सुरु गर्नुपर्छ। किन पढ्ने? एउटा करियरको लागि। किन पढ्ने? काम गर्ने बानी पार्नको लागि। होमवर्क किन गर्ने? काम गर्ने बानी पार्नको लागि। कामै पढ्ने हो भने पढ्ने बानी त हुनुपर्यो नि। काम गर्ने बानी त हुनुपर्यो नि। जस्तै भोलि गएर त्यो हामीले के पढायौँ भन्ने कुराले चाहिँ भोलिका दिनमा कत्तिको योग्य बनाउने भन्ने कुरा त्यो निर्धारण गर्छ।

    ​हाम्रो पाठ्यक्रम ठीक छ कि छैन भन्ने कुराले भोलिको योग्य जनशक्ति निर्माण हुन्छ कि हुँदैन भन्ने कुरा हुन्छ। तर के चाहिँ हो भने हाम्रो शिक्षा सैद्धान्तिक भयो, व्यावहारिक कम भयो भन्ने जुन छ नि, त्यो हो पनि। तर त्यति हुँदाहुँदै नि भोलि व्यावहारिक शिक्षा दिने दिनहरू आउला। तर यो बच्चाहरूको त दिन त यो गइसक्छ नि। सैद्धान्तिकै शिक्षा पढेर पनि हाम्रा जनशक्तिहरू चन्द्रमा नि पुग्या छन्। होला उनीहरू नासाबाट गए। ठूलठूला विज्ञहरू पनि भएका छन्, इन्जिनियरहरू पनि भएका छन्, विश्वभरि चाहिँ फैलिएका छन् नि त। यही सैद्धान्तिकै शिक्षा पढेर पनि केही गरेकाहरू त छन् नि हाम्रा समाजमा पनि त केही गर्या छन्। होला यसको परिणाम चाहिँ के भयो भन्दाखेरि त्यो जनशक्ति बाहिर गयो, हाम्रो देश खाली-खाली जस्तो भयो भन्ने एउटा कुरा हो। र त्यसलाई पनि त अलिकति शिक्षाबाटै सुधार्नुपर्ने दिन त आइसकेको छ नि, त्यो बहस त सुरु भइसकेको छ नि। जस्तै त्यो सैद्धान्तिक भारलाई अलिकति घटाएर तीभित्र अलिकति प्रोजेक्ट वर्क, तीभित्र चाहिँ अलिकति त्यो व्यावहारिक स्किलहरू दिने अभ्यासहरू त अहिले पनि सुरु भइसकेको छ। पाँच वर्ष पछि पूर्ण रूपमा होला। तर अहिलेको बच्चा पाँच वर्ष पछि म पढ्छु भने त त्यो पछि पर्छ नि। त्यसैले भएकै यो करिकुलमलाई, भएकै पाठ्यक्रमलाई चाहिँ कसरी व्यवस्थित गर्ने भनेर चाहिँ यो बहस मैले गर्दै आएको छु।

    ​त्यही क्रममा चाहिँ मेरा यी जस्तै किताबहरू पनि आए। र मैले भन्न खोज्या के भने हाम्रा विद्यार्थीलाई पढाइको मनोविज्ञान बुझाइदिनुपर्यो। पढाइको विज्ञान बुझाइदिनुपर्यो। जस्तै उनीहरूलाई करियर काउन्सिलिङहरू चाहिँ एकदम गर्न सुरु गर्नुपर्यो। जस्तै तिमीले चाहिँ यो गरेनौ भने तिम्रो यहाँ नेरी यो ल्याकिङ हुन्छ भनेर बुझाउनुपर्यो। तिमीले यो गरेनौ भने भोलिपर्छि गरी खान, काम गर्ने बानी गरेनौ भने तिम्रो पछिको यी बानीहरू छुट्छ, तिमी अब्बल नागरिक हुँदैनौ, आदर्शवान् नागरिक हुँदैनौ, चरित्रवान् नागरिक हुँदैनौ भनेर अभिभावकहरूले पनि त्यो किसिमको काउन्सिलिङहरू चाहिँ गर्न जरुरी छ। जस्तै शिक्षक पनि त्यो पाठ्यभारमा मात्र नपरिकन उसलाई जीवन उपयोगी शिक्षाहरू चाहिँ कसरी दिने भनेर त्यो शिक्षकले पनि अलिकति चलाउने—भएकै पाठ्यक्रमलाई पनि त्यो गएर पढाउने मात्र होइन कि उसको करियरलाई लिएर चाहिँ चिन्ता गर्ने, चिन्तन गर्ने चाहिँ त्यो जरुरी भइसक्यो। जस्तै त्यो देशलाई माया गर्ने कसले बनाउने भन्दा हामीले नै बनाउने हो। त्यसका लागि टूल्सहरू त्यो प्रयोग गर्ने, देशका सम्भावनाहरू देखाइदिने। जस्तै हाम्रो देशमा त अनेकन् छन् नि त। हामीसँग प्राकृतिक सम्पदा छन्, सांस्कृतिक सम्पदाहरू छन्, हामी अनेक जातजातिहरू हामी मिलेर बस्या छौँ। हरेका आफ्ना-आफ्नै परम्पराहरू छ, कल्चरहरू छ, देखि लिएर हाम्रो आफ्नै किसिमका जैविक विविधताहरू छन्, हाम्रा अनेकन् सम्भावनाहरूलाई चाहिँ हाम्रो शिक्षाले देखाइदियो भने त्यो किसिमको काउन्सिलिङ सरहरूले गर्नुभयो भने, त्यो किसिमको काउन्सिलिङ चाहिँ प्यारेन्ट्सहरूले गर्नुभयो भने हाम्रो अहिलेको ६-७ मा पढ्ने बच्चा पाँच वर्ष पछि त अर्कै भएर निस्किन्छ। त्यसैले मैले अलिकति बढी विद्यार्थीलाई चाहिँ अलिकति करियर काउन्सिलिङ, अभिभावकहरूलाई चाहिँ आफ्नो दायित्व, कसरी हुर्काउने, लालन-पालनका विधिहरू र शिक्षकहरूलाई चाहिँ अलिकति शिक्षक को हुन्, शिक्षकले चाह्यो भने के गर्न सक्छन् भनेर अलिकति मोटिभेसनल रूपमा चाहिँ जस्तै टिचरहरूलाई अनि प्लस अलिकति त्यो सञ्चार सीपहरू, त्यो पनि एकदम जरुरी छ। देखि लगायत यो चाहिँ मैले आफ्नो एउटा परिधि बनाएर, एउटा चाहिँ फ्रेमवर्क बनाएर, त्यसमा अनेकन् सन्दर्भहरू बुझेर नेसनल, इन्टरनेसनल—राष्ट्रिय सन्दर्भ, अन्तर्राष्ट्रिय सन्दर्भ, हरेक कुराको अन्तर्राष्ट्रिय प्रक्टिसहरू चाहिँ के भइराखेका छन् भन्ने समेत चाहिँ मैले किताबहरूमा पनि ती कुराहरू चाहिँ समेटेर हाम्रा प्राचीन अभ्यासहरू के छ, हाम्रा शास्त्रहरूले के भन्छ, देखि लिएर यो सबै कुराको एउटा प्याकेज लिएर म देशभरि हिँड्या छु।

    ​अनीता: हजुर दाइ, जस्तो हजुरले अभिभावकको कुरा पनि गर्नुभयो, शिक्षकको कुरा पनि गर्नुभयो, बालबालिकाको कुरा पनि गर्नुभयो। पछिल्लो समय चाहिँ देशव्यापी रूपमा नै भनौँ अलिकति शिक्षा पनि योगमुखी शिक्षा भनेर एउटा आध्यात्मिक तर्फ पनि लगिएको देखिन्छ। बालबालिकाको लागि अध्यात्मको किन जरुरी छ दाइ? जस्तो अब संस्कारको कुरा होला, उसले गर्ने व्यवहारको कुरा होला, उसले सिक्ने सिकाइको कुरा होला दाइ। योग नै बालबालिकाको लागि सानै उमेर देखि किन?

    ​दामोदर: अब यो हाम्रो शिक्षाबाट अहिले झिकिएको कुरा भनेको संस्कार हो। जस्तै संस्कार भनेको चाहिँ हामीले के बुझ्यौँ भने एकदम भारको विषय बुझ्यौँ। संस्कार भनेको जात्रा हो, संस्कार भनेको पर्व हो, संस्कार भनेको महिलाको कपडा हो, संस्कार भनेको महिलाहरू चाहिँ एउटा बन्धनमा बाँधिनु हो। लगायत जुन चाहिँ त्यो संस्कारै होइन, संस्कारै नभएका कुराहरूलाई चाहिँ हामीले संस्कार हो भनेर चाहिँ व्याख्या गर्दै आयौँ। जस्तै बच्चा ठूलो भएपछि मुख नलाग्नु संस्कार हो भन्यौँ हामीले। ठूलाका अगाडि… यसले हामीले के गर्यौँ बालबालिकालाई दमन गर्यौँ। ठूलाका अगाडि नबोल्ने होइन, ठूलाका अगाडि बोल्ने। ठूलाका अगाडि के बोल्ने भन्दा ठूलाबाट चाहिँ सिक्ने कुराहरू, जिज्ञासाहरू। सबै प्यारेन्ट्सले सही गर्छन् भन्ने होइन नि, गलत भए नि प्रश्न गर्ने। त्यो प्रश्न गर्ने क्षमताहरू हामीले झिक्द्या छौँ, त्यसलाई हामीले संस्कार भन्यौँ। ठूलाका अगाडि मुख लाग्छस्, मुख लाग्नुहुन्छ? त्यसलाई हामीले संस्कार भन्यौँ। त्यसैले संस्कारमा भएका अलिअलि केही गलत पाटाले गर्दा संस्कारको कुरा गर्न हामीले लामो समय छोड्यौँ। र अहिले चाहिँ फेरि तपाईंको संस्कारका कुराहरू आएको छ।

    ​जस्तै मैले पनि संस्कारको आधुनिक रूप के हो भनेर मैले व्याख्या गर्या छु। जस्तै हामीले संस्कार अथवा हामीले चरित्र, हामीले नैतिकवान् भनेर हामीले एकदम पौराणिक कथाहरू मात्र हामीले सुनाउँदै आएका थियौँ। अब आधुनिक उसमा चाहिँ के गर्नुपर्यो भने अहिलेकै राम्रा मान्छेहरूको सफलताको कथा, इमानदार मान्छेहरूको सफलताको कथा, चरित्रवान् मान्छेहरूको सफलताको कथा, त्यो चाहिँ हामी विगतका नैतिक शिक्षामा जोड्ने ठीक छ, त्यो पनि आफ्नै ठाउँमा ठीक छ। तर अहिले भइराखेको कुराहरू चाहिँ बढी भन्दियो भने उनीहरूले बढी छिटो विश्वास गर्छन्।

    ​अनि उनीहरूलाई अब सत्य सिकाउनुपर्यो, निष्ठा सिकाउनुपर्यो, सदाचार सिकाउनुपर्यो। अध्यात्मले भन्छ नि—सत्यम् शिवम् सुन्दरम्। यतिमै सार छ। सत्य हुनुपर्यो, शिवम्—सेवा, सुन्दरम्—आविष्कार। शिक्षाको सार नै हाम्रो अध्यात्ममा छ। र अनि हामीले चाहिँ के ठान्यौँ भने अध्यात्म भनेको चाहिँ हामीले धर्म भन्ने ठान्यौँ। धर्मभित्र पनि अध्यात्म छ, त्यो एउटा पाटो हो। तर अध्यात्म धर्म मात्र होइन। धर्ममा त के छ भन्दाखेरि धर्ममा एक किसिमको विभाजन छ—हिन्दू, मुस्लिम, क्रिस्चियन, किराँत होला देखि लिएर त्यो विभाजन छ। तर अध्यात्ममा विभाजन छैन। अध्यात्ममा किन विभाजन छैन भन्दा अध्यात्मको सार भनेको चाहिँ आफूलाई चिन। यति हो नि त। तिमीभित्रको शक्ति उजागर गरेर चाहिँ तिमी अघि बढ। अध्यात्मको सार त यही हो नि। अनि संस्कारको सार के हो भने तिम्रो दुर्गुणहरू हटाएर तिमी सद्गुणी बन। तिम्रो व्यक्तित्व चम्काउ, तिम्रो व्यक्तित्व टल्काउ, तिमी सद्गुणी बन, त्यो संस्कार। अरूलाई हाम नगर, तिमीलाई जे कुरा मन पर्छ त्यो कुरा अरूलाई नि मन नपर्न सक्छ, त्यसैले तिम्रो आफ्नो चाहिँ व्यवहारहरू चाहिँ सुधार्। यो विज्ञान हो नि त। मान्छेलाई चाहिने विज्ञान हो नि। यसमा संस्कारमा विज्ञान छ।

    ​मैले त्यो यो ‘संस्कार प्रयोगशाला’ भनेर एउटा किताब लेख्या छु, पाण्डुलिपि तयार छ। यो चाहिँ कसरी विज्ञान हो? संस्कारको विज्ञान के हो, मनोविज्ञान के हो भनेर त्यो बालबालिकालाई अथवा प्यारेन्ट्सलाई पनि कन्भिन्स हुने गरी मैले त्यो गर्या छु। अब प्रसङ्ग आयो—योग, ध्यान किन गर्ने? प्राणायामहरू किन गर्ने? यो तो हामीले लामो समय यसलाई धर्मसँग जोड्यौँ। भगवान् शिवले चाहिँ गरेको भएर यो चाहिँ हिन्दूहरूको हो भनियो। तर हामीले शरीर विज्ञानसँग जोड्ने हो भने यसको धर्मसँग साइनो नै छैन। शरीर विज्ञानसँग जोड्ने हो भने चाहिँ जस्तै यसले चाहिँ हाम्रो तनावहरू कम गर्छ। तनाव कम गर्छ भनेको चाहिँ हाम्रो शरीरको त्यो कोर्टिसोल भन्ने चाहिँ हर्मोन हुन्छ, जुन त्यो तनावको हर्मोन, त्यो चाहिँ घटाउने हो। अर्को डोपामाइन भन्ने हर्मोन हुन्छ—खुसीको हर्मोन, त्यो चाहिँ बढाउने हो। अर्को त्यो निद्रा लाग्दाखेरि उत्पन्न हुने हर्मोन हुन्छ, त्यो बढाउने हो। त्यो निद्राको गुणस्तर बनाउने। अरू हर्मोन जस्तै अब योगहरूले जस्तै अब कयौँ हर्मोनको गडबडी—जस्तै प्रेसर, सुगर, सुगर खासगरी हर्मोनको गडबडी हो, त्यसलाई चाहिँ एउटा लयमा ल्याउने।

    ​अनि त्यस्तै गरी अब जस्तै लेडिज हर्मोनहरू त्यसलाई कन्ट्रोल गर्ने—यो त के हो भने साइन्स हो नि त। होला यो परमेश्वरसँग चाहिँ मिलन गराउने भन्ने चाहिँ हाम्रो धार्मिक प्राक्टिसमा गरियो, त्यो ठीक छ धार्मिक समुदायले त्यो भन्नुहुन्छ। तर हामी चाहिँ अलिकति मनोविज्ञान विज्ञान खोज्ने मान्छेहरू चाहिँ शरीरसँग जोडेर शरीर विज्ञान हो। यसले शरीरलाई फाइदा गर्छ। र यसका अभ्यासहरू नि गर्छन्। मैले ‘कर्म’ भन्ने किताबमा लेख्या छु, त्यो तीन मिनेट मात्र चाहिँ शरीरको एक्सरसाइज गर्ने—त्यो चाहिँ एउटा जापानीहरूले एउटा प्रोजेक्ट चलाएका थिए, मैले पाँच-सात ओटा स्कुलमा हेरेँ। तीन मिनेटमै मान्छे दिनभरि रिफ्रेस भयो। त्यो त हो नि त जिउ चलाउँदाखेरि, त्यो त कति हाम्रो मस्तिष्कको जस्तै अब श्वासप्रश्वास गर्दाखेरि हाम्रो फोक्सोको एक्सरसाइज हुन्छ। अरू योग गर्दाखेरि हाम्रो शरीरको एक्सरसाइज हुन्छ, हाम्रो राम्रोसँग शरीरको एक्सरसाइज भयो भने हाम्रा मसलहरू चाहिँ एक्टिभ हुन्छन्, कोषहरू चाहिँ एक्टिभ हुन्छन्। ध्यान गर्यो भने एकाग्रता बढ्छ। जस्तै माइन्डफुलनेस—वर्तमानमै फर्कौँ, वर्तमानमै केन्द्रित हऔँ। हाम्रा विगतका तनाव छन् अनगिन्ती, भविष्यका तनाव छन्। विगतका घटनाहरूले मात्र हामीलाई सोलुसन त दिँदैन नि। अहिले त्यो ओसीडी भन्ने मानसिक समस्याहरू चाहिँ त्यो निम्त्याउँछ, देखि लिएर त्यसको नि काम छैन।

    ​भोलि के होला भन्ने चिन्ताले पनि मान्छेलाई कहीँ पनि पुर्याउँदैन, उल्टै त्यो तनावका हर्मोनहरू बढाउने हो। होला भविष्यको चिन्तन चाहिएला, तर हामी चिन्तनभन्दा बढी चाहिँ चिन्ताहरू गर्छौँ, त्यसले पनि हाम्रो स्वास्थ्यहरू चाहिँ बिगारिराखेको छ। त्यसैले यो ध्यान, प्राणायाम भनेको त बच्चाबाटै सिकाउने हो, बच्चाबाटै अभ्यास गर्ने हो, त्यो बेला सिकेका कुराहरू यो दीर्घ हुन्छ। त्यसैले मैले हरेक उसमा चाहिँ लामो त होइन, म चार-पाँच मिनेटको म श्वासप्रश्वास नि गराउँछु। अलिअलि यो शरीर चलाउने अलिअलि क्रियाकलाप पनि गराउँछु। अब चाहियो भने अब उहाँहरूले चाहिँ त्यो आफैँ गर्नुहुन्छ। योग, ध्यान, प्राणायामको त म विज्ञ होइन, अलिकति आफूलाई चाहिने थोरै जस्तै १५-२० मिनेट आधा घण्टा जति चाहिँ म पनि दैनिक अभ्यास गर्छु। त्यति गर्यो भने धेरै कुराहरू जस्तै बिहान ६ बजेभित्रमा त्यति योग, प्राणायाम, ध्यानमध्ये कुनै गर्नुभयो भने दिन कस्तो लामो भएको फिल हुन्छ। ६ बजे सिध्यायो, ८ त कहिल्यै बज्दैन, १० कहिल्यै बज्दैन। देखि लिएर दिन लामो हुन्छ, धेरै काम गर्न सकिन्छ। लगायत यो त सबै यो विज्ञान हो। हाम्रा पुर्खाहरूले चाहिँ परमात्मसँग मात्रै जोडिएको भएर कतिले चाहिँ यो धार्मिक भनेर हेला गरिए। तर यो ठीक छ धार्मिक त हरेक कुरा धर्म हो। सत्य नै धर्म हो, सत्कर्म नै धर्म हो, अझ त्योभन्दा अघि बढेर चाहिँ हामी त सेवा नै धर्म हो भन्ने त हाम्रो संस्कार हो नि त। र हामी चाहिँ अब सेवा नै गरौँ, सेवा गरेर नै मान्छे भगवान् बन्ने हो। बुद्ध सेवा गरेरै भगवान् बनेका हुन्, कृष्ण अरूका लागि काम गरेरै भगवान् भएका हुन्, राम त्यस्तै हो। देखि लिएर यो त हामीसँग त अभ्यास नै छन् नि त। यी कुराहरू चाहिँ आफूमा एप्लाई किन नगर्ने?

    ​त्यसैले बच्चाहरूलाई, त्यसैले अहिलेको सरकारले पनि स्कुल लेभलमा योग, ध्यान, प्राणायामहरू पनि समावेश गर्ने करिकुलममा भनेर जुन नीतिहरू ल्याएको छ, यो त चाँडो ढिलो यसको विज्ञान बुझेरै हो। यदि यो विज्ञान थिएन भने मान्छेले एक्सेप्ट गर्दैनथ्यो। यहाँभित्रको हाम्रा हरेक संस्कारका विज्ञान छन्। के हुन् खुसी—त्यसका विज्ञान के हुन्, खुसी भइन्छ। खुसी भएपछि हाम्रो त्यो डोपामाइन बढी रिलिज हुन्छ, त्यसले चाहिँ मान्छेलाई ह्याप्पी राख्छ। यो त हाम्रो खुसीको विज्ञान पनि हो हाम्रा संस्कारहरू भनेका। त्यसैले यसलाई किन एप्लाई नगर्ने भनेर मैले प्रत्येक किताबमा मैले संस्कार जोड्या छु। मेरो ‘स्कुल बेच्ने बालक’ त्यो संस्कारयुक्त मनोवैज्ञानिक अभ्यास भनेर त्यसलाई नि संस्कारसँग जोड्या छु। ‘घरको शिक्षा’लाई पनि संस्कारसँग जोड्या छु। ‘कर्म’लाई नि मैले संस्कारसँग जोड्या छु। अर्को मैले ‘दास प्रथाको नयाँ रूप’ भन्ने बालश्रमिक माथि जोडेँ, त्यो पनि संस्कार नभएका घरहरूले गर्दा त्यो बालबालिकाले दुःख पाएका हुन्, अरूलाई दुःख दिनु हुँदैन भन्ने मात्र सोच्यो भने नि त्यसले एकदम सम्मानित लाइफ—हामी त हरेक पाइला पाइलामा हामी सम्मान खोज्छौँ नि। हाम्रो शास्त्रहरूले त के भन्छ भने मृत्यु पनि सम्मानित हुनुपर्छ, डिग्निफाइड डेथ—सम्मानित मृत्युको कल्पना पनि गर्छौँ नि त हाम्रो यो संस्कारले त। त्यसैले यो अहिलेको अवस्था भनेको चाहिँ संस्कार नबुझेर संस्कार छोडेको अवस्था, त्यसैले हाम्रो समाज भद्रगोल छ, लथालिङ्ग छ, त्यो सबै कुरामा तपाईंको संस्कार हुन्छ। मोबाइल चलाउने पनि संस्कार हुन्छ। प्रविधि चलाउने पनि प्रविधिका संस्कारहरू हुन्छन्। त्यो त हामीले बनाएर त्यो गाइडलाइनहरू बनाएर यो संस्कारमा काम गर्न जरुरी छ, अरू हाम्रा शरीर विज्ञानमा काम गर्न जरुरी छ। त्यो भनेको हामीभित्रको अध्यात्मलाई जागरण गराउन हाम्रो शिक्षाले चाहिँ यो प्रोत्साहन गर्नुपर्छ। र यो पश्चिमाहरूले धेरै पहिला गरिसके। त्यसैले मेडिटेसन भने उनीहरूले, हामीले ध्यान भन्यौँ। हामीलाई ध्यान मन पर्दैन भने मेडिटेसन नै गरौँ, तर गर्ने चाहिँ गरौँ।

    ​अनीता: एकदमै दाइ। जस्तो मलाई अलिकति सोध्न मन लाग्यो, बालबालिकाहरूमा पनि फरक-फरक स्वभावहरू देखिन्छ। जस्तो अटिजम भएका बालबालिकाहरू पनि भेटिन्छ, मनोरोगीहरू पनि भेटिन्छ, परिवारसँग साथीभाइहरूसँग घुलमिल नगर्ने बच्चाहरू पनि भेटिन्छ। बच्चाहरूको स्वभाव अनुसार हामीले कसरी तिनीहरूलाई चाहिँ के भन्ने उनीहरूसँग घुलमिल हुने, उनीहरूलाई चाहिँ पढाइमा फोकसिंग गर्नको लागि हामीले तिनीहरू तिर बढी आकर्षित हुने भनौँ अथवा तिनीहरूलाई बढी प्राथमिकता कसरी दिने?

    ​दामोदर: यो चाहिँ यो सम्पूर्ण यसको चाहिँ जिस्ट हो यो। तपाईंले गरेको प्रश्न चाहिँ अहिलेको समस्या पनि हो, अहिलेको समाधान पनि हो। म ठ्याक्क यो कुरा यो अत्यन्त चुरो प्रश्न गर्नुभयो। जस्तै बालबालिका जस्तै तपाईंको प्रश्नको म १-२-३ गरेर उत्तर दिन्छु। जस्तै पहिला बालबालिका एकैनास हुँदैनन्। त्यो बाइ बर्थ पनि जेनेटिकली पनि कोही-कोही चाहिँ एकदमै साउन्ड, एकदमै उन्नत भएर आएका हुन्छन् जेनेटिकली। कोही चाहिँ ठीकठीकै भएर आएका हुन्छन्। तपाईंको यो मनोविज्ञानले नि के भन्छ भने लगभग जस्तै धेरै मनोवैज्ञानिकहरूको बाल मनोवैज्ञानिकहरूको मत चाहिँ के छ भने बच्चाहरू सामान्यतया पाँचवटा क्याटेगोरीका हुन्छन्। त्यो चाहिँ आईक्यु टेस्ट गरेर थाहा हुन्छ। आईक्यु टेस्ट भनेको चाहिँ मानसिक उमेरलाई शारीरिक उमेरले भाग गरेर इन्टु १०० गरेपछि त्यो बच्चाको आईक्यु आउँछ। यसलाई अझ बुझिने गरी कसरी भनौँ भने शारीरिक उमेर भनेको चाहिँ त्यो जन्मका आधारमा भएको उमेर, जस्तै १० वर्षको बच्चा, ७० सालमा जन्मेको बच्चा ८० सालमा १० वर्ष भयो, ८३ सालमा १३ वर्षको भयो—त्यो चाहिँ शारीरिक उमेर भयो। अनि त्यो उमेर अनुसारको त उसको विकास हुन्छ नि, उसको सिकाइका जस्तै बच्चाहरूको चरण—गर्भावस्था देखि दुई वर्षसम्म सुनौला हजार दिन। तीन वर्षदेखि ६ वर्षसम्म पाँच-छ वर्षसम्म त्यो प्रारम्भिक बाल्यावस्था। ६-७ वर्षदेखि १०-११ वर्षसम्म उत्तर बाल्यावस्था। ११-१२ देखि लगभग १३-१४ सम्म पूर्व किशोरावस्था र त्यहाँ देखि अरू माथि चाहिँ किशोरावस्था।

    ​त्यो हरेक अवस्थामा चाहिँ उनीहरूको सिकाइका तहहरू, बुझाइका तहहरू, संवेगका तहहरू चाहिँ तपाईंको फरक हुन्छ। र कोही-कोही चाहिँ अनि सिकाइ कस्तो हुन्छ भने त्यो शारीरिक उमेरभन्दा कोहीको सिकाइ माथि हुन्छ। जस्तै एउटा एजम्पसन गरिन्छ—१० वर्षको बच्चाले चाहिँ यस्तो-यस्तो चाहिँ प्रश्नको उत्तर दिन सक्छ भनेर साइकोलोजिस्टले एउटा मानक बनाएका हुन्छन्। जस्तै १० वर्षको बच्चालाई १० वर्षको बच्चालाई यस्तो प्रश्न सोध्दाखेरि यस्तो उत्तर दियो भन्यो भने उसको मानसिक उमेर पनि १० वर्ष हो। त्यसलाई अब ११ वर्षको बच्चाले सोध्ने प्रश्न त्यसलाई दियो र त्यो चाहिँ त्यसले मिलायो भने उसको मानसिक उमेर ११ वर्ष भयो। र ९ वर्षकोले चाहिँ यस्तो उत्तर दिन्छन् भनेर जुन एउटा एजम्पसन गरिराख्या छ नि, त्यो ९ वर्षकोले दिने उत्तर दियो भने उसको मानसिक उमेर चाहिँ ९ वर्ष भयो। त्यो चाहिँ अनि त्यही अनुसार चाहिँ मानसिक उमेरहरू चाहिँ अलिकति मेहनत गरेर प्रश्नहरू सोधेर साइकोलोजिस्टले त्यो पत्ता लगाउँछन्। त्यही आधारमा चाहिँ मानसिक उमेर आईक्यु आउँछ। शारीरिक मानसिक उमेरलाई शारीरिक उमेरले भाग गरेर इन्टु १०० गरेपछि जेनेरल्ली त्यो आईक्यु टेस्ट हुन्छ। १३० भन्दा माथिको त्यो एकदम ब्रिलियन्ट। त्यसपछि १२०, ११० घट्दै आउँछ। १०० होला, ७० चाहिँ एउटा बोर्डर लाइन हो। त्यो भनेको चाहिँ अलिकति मन्द हुने, त्योभन्दा तल आयो भने चाहिँ त्यो बौद्धिक अपाङ्गता। त्यो लेबल र बौद्धिक अपाङ्गको पनि कुन लेभलको हो भनेर अर्को अर्को टेस्ट हुन्छ फेरि। हामी चाहिँ के गर्छौँ भने सबैलाई एउटै डालोमा हाल्दिन्छौँ। यो चाहिँ बालबालिकाको यो चाहिँ श्रेणी आईक्यु टेस्ट गरेर।

    ​एउटा त्यो पाटो भयो। अर्को म भन्छु—यो मनोवैज्ञानिक समस्याहरू। हामीले गरेका व्यवहारहरू, जस्तै अहिले त मैले अघि भने नि—शारीरिक हिंसा घट्यो, मानसिक हिंसा ह्वात्तै बढ्या छ। त्यसको परिणाम हाम्रा बच्चाहरू मानसिक समस्याका शिकार छन्। र यो विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एउटा तथ्यांक अनुसार चाहिँ समग्र नेपालीहरूको मानसिक अवस्था मध्ये ५०% चाहिँ १४ वर्ष मुनिका बच्चाहरू छन्। भनेपछि बालबालिकामा मानसिक समस्याको दर ह्वात्तै बढ्दो छ। त्यसमा चाहिँ एन्जाइटी, डिप्रेसन, ओसीडी लगायत यो जस्तै अघि तपाईंले भन्नुभएको थियो सोसियल नहुने—त्यो पनि मानसिक समस्या हो। खाना नखाने—त्यो पनि मानसिक समस्या हो। धेरै खाइदिने, बरु वान्ता गर्ने खाना नछोड्ने—त्यो पनि मानसिक समस्या हो। देखि लेकर यो धेरै किसिमका मानसिक समस्याहरू छन्। तर हामी यो कुनै पनि देख्दैनौँ। ठूलो चुनौती भनेको चाहिँ यो हामी कुनै पनि देख्दैनौँ। त्यो देख्न पहिलो कुरो बुवाआमाहरू पनि सजग हुनुपर्यो—यो-यो लक्षण भयो भने मानसिक समस्या यो हो कि भनेर अभिभावकले थाहा पाउनुपर्यो। मेरो यो अभियानमा यो कुरा पनि जोडिन्छ। टिचरले थाहा पाउनुपर्यो—यो यहाँ पनि जोडिन्छ। र म चाहिँ कुन मानसिक अवस्थामा छु भनेर त्यो बच्चाले पनि धेरै सानोले त होइन कि लगभग पूर्व किशोरावस्थामा प्रवेश गरिसकेको मान्छेले चाहिँ यो-यो भयो भने मेरो मानसिक समस्या हुन सक्छ, त्यसकारण चाहिँ यसलाई समाधान खोजौँ। ठूलो कुरै छैन, यसको हल्का काउन्सिलिङले नै ठीक हुन्छ। एउटा यो मानसिक समस्याको पाटो विकराल रूपमा चाहिँ बढ्दै छ।

    ​तपाईंले किन इम्पोटेन्ट कुरा गर्नुभयो भने यो कुरामा बहस नगरी हुँदैन भनेर यसमा मेरो च्याप्टरै छ यो—मानसिक समस्याका अनेक च्याप्टरहरू चाहिँ मैले यसमा उल्लेख गर्या छु। अर्को चाहिँ तपाईंले अटिजम भन्नुभयो, हामीले यो चाहिँ यो न्युरो विविधता भन्छ अहिले चाहिँ। त्यसमा चाहिँ अटिजम, एडीएचडी त्यसपछि डिस्लेक्सिया अनि अर्को बौद्धिक अपाङ्गता—लगभग यो चारवटा चाहिँ त्यसमा पर्छ। त्यसमध्ये अटिजम भएको अटिजमका फेरि धेरै लेभल छन्। तपाईंलाई हामी मौका मिल्यो भने अटिजम, बौद्धिक अपाङ्गता अनि एडीएचडी यो विषयमा पनि हाम्रो छुट्टै कार्यक्रमहरू चाहिँ गरेर आम दर्शकहरूलाई चाहिँ यो चेतना फैलाउन एकदम जरुरी छ। तर म सर्टमा के भन्छु भने हाम्रो यो सेन्सरी अर्गानमा आएका खराबीका कारण चाहिँ अटिजम हुने हो। हाम्रो कानले सुन्छ, आँखाले देख्छ, जिब्रोले टेस्ट लिन्छ, नाकले चाहिँ गन्ध, त्यसपछि छालाले स्पर्श। हाम्रो मस्तिष्कमा सूचना पुर्याउने अर्गान पनि यही हो। र यो अर्गानमा चाहिँ कुनै न कुनै किसिमका खराबीहरू आयो भने त्यो चाहिँ अटिजम हुन्छ। कोही धेरै कान सुन्छ, कोही कानै सुन्दैन। कोही एकदम आँखा देख्छ, कोही एकदम मन्द देख्छ। कोही बोल्छ, कोही बोल्दैन। कोहीको जिब्रोले चाहिँ त्यो स्वाद नै थाहा पाउँदैन, माटो पनि उसले उस्तै ठान्छ, उसले चिनी पनि उस्तै ठान्छ। अनि उसले त्यो स्पर्श पनि थाहा पाउँदैन। उ एकदम आँखा जुधाएर उ हेर्न सक्दैन। देखि लिएर यो किसिमको अटिजम तीव्र रूपमा बढ्दै गइराख्या छ।

    ​जस्तै मैले १०-११ वर्ष अगाडि ‘कर्म’ भन्ने किताब लेख्दाखेरि त्यो बेला १०० जनामा १ जनालाई अटिजम हुने त्यो प्रक्षेपण थियो विश्व स्वास्थ्य संगठनले गरेको। अब अहिले चाहिँ त्यो आँकडा बढेर १०० मा ३६ पुग्या छ। विकराल रूपमा चाहिँ अटिजमहरू बढ्दै छ। त्यसैले यो चाहिँ बहस मात्र होइन कि अब अटिजमको लागि एउटा केयर सेन्टरहरू अत्यन्त जरुरी यो भइसक्यो। र मैले चाहिँ फिल्ममा हेर्दा कयौँ म त चिन्छु—यसको लक्षण यो हो अटिजम। एडीएचडी—त्यो बेला चाहिँ एकदम हाइपरमा जाने। ती सबैमा क्षमता चाहिँ छन्। त्यो छ, उ चुप लागेर बस्न सक्दैन, उ एकदम चल्छ, उ एकदम आक्रामक हुन्छ, रिसाहा हुन्छ। तर हामी चाहिँ यो यस्तो भयो भनेर पिटिराख्या छौँ—समाधान चाहिँ। त्यसलाई हिंसा गरिराख्या छौँ—मानसिक हिंसा, शारीरिक हिंसा। त्यो होइन, त्यसको निदानहरू छ। अटिजमले पनि गरि खान सक्छन्। एडीएचडीले नि गरि खान सक्छ र त्यो बौद्धिक अपाङ्गता भएकाहरूले पनि गरि खान सक्छन्। त्यसका लागि चाहिँ आम उस्तै बालबालिकालाई होइन कि उनीहरूको भन्दा फरक सीप उनीहरूलाई जरुरी छ। त्यसैले न्युरो विविधता भनिएको हो। अरू सामान्यभन्दा तिनीहरू पृथक् हुन्। यसरी चाहिँ यो हेर्नुपर्यो। र यो यसरी यी पाटोहरूमा चाहिँ काम गर्न अत्यन्त जरुरी छ। र हाम्रो शिक्षाले यसरी क्याटेगोरी छुट्ट्याएर काम गर्या छैन। सबैलाई एकै ठाउँमा राख्या छ, क्याटेगोरी नै छुट्ट्या छैन। त्यसैले जान्नेले नि सिक्न पाएको छैन, कमजोरले नि सिक्न पाएको छैन र त्यो मध्यम खालैलाई चाहिँ त्यसलाई फोकस गरेर चाहिँ हाम्रा शिक्षाहरू बनाइएका छन्। त्यसैले शिक्षा नीतिहरूमा चाहिँ परिवर्तन गर्नुपर्छ, परिवर्तन हुनुपर्छ भनिएको कारण यो हो।

    ​अनीता: हजुर दाइ, जस्तो हामी समयको अन्तिममा पनि आइसकेका छौँ। जस्तो अन्तिममा बालबालिका, अभिभावक र शिक्षकहरूलाई चाहिँ शिक्षा सुधारको लागि भनौँ, बालबालिकाको विकासको लागि भनौँ हजुरको सुझाव के रहन्छ?

    ​दामोदर: पहिलो कुरा चाहिँ बालबालिका बुझौँ। बालबालिकाको मनोविज्ञान बुझौँ, बाल विकासका चरणहरू बुझौँ। र त्यो चरणहरू बुझियो भने चाहिँ त्यो बच्चाहरूका हरेक क्रियाकलाप—दुःख दिने, सुख दिने, त्यो सबै कुराहरू चाहिँ हामी झेल्न सक्छौँ। र जेनेरल्ली के बुझौँ भने प्रारम्भिक बाल्यावस्था भनेको दुःख दिने उमेर हो। यसले दुःखै दिन्छ। फोहोरी उमेर हो—यसले फोहोरै खेल्छ। खेलौनाको उमेर हो—यसले त्यो खेल्छ, खेल्छ नै। उ खेली-खेली सिक्छ, खेली-खेली बढ्छ। उसको त्यो खेलै हो। उ जिज्ञासु उमेर हो—यसले जिज्ञासा मात्र राख्छ, अनेक प्रश्नहरू सोधेर हैरान गर्छ। त्यो चाहिँ दुःख दिने उमेर हो। र त्यो त्यो अवस्था तपाईंले झेल्नुभयो भने तपाईंको बच्चा अब उत्तर बाल्यावस्थामा प्रवेश गर्छ।

    ​र उत्तर बाल्यावस्थामा प्रवेश गर्नु भनेको चाहिँ त्यो त्यो शान्त अवधि हो। त्यो प्रारम्भिक बाल्यावस्थामा तपाईंलाई झेल्न मुस्किल भएको बच्चा उत्तर बाल्यावस्थामा पसेपछि त्यो चाहिँ तपाईंले झेल्न सक्ने हुन्छ। त्यो बौद्धिक हुन्छ, त्यसले सोलुसनहरू खोज्छ, त्यो शान्त हुन्छ, भन्या मान्छ, देखि लिएर त्यो किसिमको अर्को चरणमा पस्छ। र त्यो चरण पनि पार गरेको बच्चा जब किशोरावस्थामा प्रवेश गर्छ, किशोरावस्था अर्को आँधी आउने बेला हो। अभिभावकले बुझ्ने अथवा आम दर्शकले बुझ्ने भाषामा भन्दा प्रारम्भिक बाल्यावस्था—त्यो जिद्दी, सम्हाल्न नसक्ने त्यो। उत्तर बाल्यावस्था—त्यो शान्त बेला। र किशोरावस्था भनेको चाहिँ आँधी आउने बेला। आँधी आउँछ आउँछ। तपाईंले जुनसुकै अवस्थामा पनि राम्रो गरी हुर्काउँदै-हुर्काउँदै गर्भावस्था देखि नै राम्रो गरी हुर्काउँदै-हुर्काउँदै तपाईं किशोरावस्थामा प्रवेश गर्नुभएको छ भने पनि त्यो आँधी चाहिँ आउँछ फेरि। र तपाईंले ती अघिल्ला चरणहरूमा राम्रो गरी हुर्काउनुभएको छ भने त्यो आँधी तपाईंले नि झेल्न सक्नुहुन्छ, त्यो बच्चाले पनि त्यो झेल्न सक्छ। किनभने तपाईंको परामर्श त्यसले सुन्छ।

    ​तपाईंले यस्तो गरी हुर्केको हुन्छ कि सबैप्रति उसको ट्रस्ट हुन्छ—शिक्षकप्रति ट्रस्ट हुन्छ, समाजप्रति ट्रस्ट हुन्छ, अभिभावकप्रति ट्रस्ट हुन्छ। त्यो ट्रस्टको फल स्वरूप चाहिँ उसले त्यो आँधीमा तपाईंको परामर्श त चाहिन्छ, तर त्यो परामर्श उसले टेर्छ। र त्यो आँधी झेल्न चाहिँ शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई चाहिँ सहज हुन्छ। यदि तपाईंको त्यो गर्भावस्था देखि नै तपाईंको विकासका चरणहरू बुझेर व्यवहारहरू गर्नुभएको छैन र त्यो दुःख दिने उमेरमा चाहिँ तपाईंले दमन गर्नुभएको छ भने बच्चा मानसिक रोगी हुने पनि त्यही कारण हो, नटेर्ने कारण पनि त्यही हो। र त्यो आँधीलाई चाहिँ सम्हाल्न नसकेर लथालिङ्ग हुने कुरा पनि त्यही हो। त्यसैले समाज विकासको अथवा बाल विकासको चरणहरू बुझेर र गर्भावस्थामा गर्ने भनेको आमालाई चाहिँ राम्रो खानपिन, पौष्टिक खानपिन र मुख्य कुरो आमालाई तनावमुक्त बनाउनुभयो भने त्यो बच्चा शान्तपूर्वक आउँछ। र हाम्रो चाहिँ यो पृथ्वीमा आएको, जन्म लिएको यो ठूलो वरदान त्यो साबित हुन्छ। र त्यो तपाईंले चाहेको जस्तो हुन्छ, हाम्रो समाजले चाहेको जस्तो हुन्छ र हाम्रो देशले चाहेको जस्तो हुन्छ र विश्वले चाहेको जस्तो हुन्छ। र यो नागरिक उत्पादन गर्ने दायित्व चाहिँ हाम्रो हो—अभिभावकको हो, शिक्षकको हो, पोलिसी बनाउने राज्यको हो। यो तीनटै सबै पक्षहरू मिल्यो भने हाम्रा बच्चाहरू राम्रा हुन्छन्, भोलि तिनले देशका समृद्धिका खाकाहरू कोर्छन् र हामीलाई चाहिँ हाम्रा पछिल्ला पुस्ताले चाहिँ हामी अघिल्ला पुस्तालाई पनि सुखी नागरिकको रूपमा बनाउने जिम्मेवारी तिनले लिन्छन्। र त्यो जिम्मेवारी लिन सक्ने म्यानपावरहरू चाहिँ हामीले बनाउन आजैदेखि सुरु गरौँ। के-के अज्ञानताहरू छन्, त्यो अज्ञानताहरू चाहिँ हामीले हटाऔँ। अज्ञानता भनेको चाहिँ अँध्यारो हो, त्यसलाई चाहिँ ज्ञान रूपी उज्यालोले चाहिँ त्यसलाई विस्थापन गरौँ। धन्यवाद!

    ​अनीता: हस् दाइ, समय दिनुभयो यहाँलाई धेरै-धेरै धन्यवाद। आदरणीय दर्शकवृन्द कार्यक्रम सत्य संवादमा आज हामीले शिक्षाविद् वरिष्ठ पत्रकार पनि आदरणीय दामोदर न्यौपाने दाइसँग विशेष कुराकानी गर्यौँ। हामी अर्को कार्यक्रममा अर्को व्यक्तित्वसँग कुराकानी गर्नको लागि आउने नै छौँ। हाम्रो ‘सत्य संवाद’ कार्यक्रम र हाम्रो युट्युब च्यानल मार्फत हेर्दै तपाईंहरूलाई कस्तो लाग्यो, प्रतिक्रिया दिँदै गर्नुहोला। हस् धन्यवाद, शुभ रहोस्।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.