
इटहरी, पुस ६ ।
इटहरीको मोर्डन प्रिपेटरी सेकेन्डरी बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा विद्यार्थीलाई ध्यान अभ्यास गराएको छ। आधुनिक शिक्षा र गुरुकुलीय परम्परालाई जोड्ने उद्देश्यले विद्यालयले बालबालिकालाई सजिलो तर प्रभावकारी ध्यान विधि सिकाएको हो।


विद्यालयका प्रधानाध्यापक पदमराज सापकोटाले विद्यार्थीलाई दुई विशेष ध्यान अभ्यासमा सहभागी गराउनु भएको थियो ।विश्व ध्यान दिवसको अवसर पारेर कक्षा ८, ९ र १० का विद्यार्थीलाई ध्यान सिकाइएको हो ।
आज सिकाइएको ध्यान मध्ये पहिलो थियो- त्राटक ध्यान। यस अभ्यासमा विद्यार्थीले एक निश्चित बिन्दु वा वस्तुमा निरन्तर दृष्टि जमाएर बस्नुपर्छ। यसले मनलाई एकाग्र बनाउने, स्मरणशक्ति बलियो बनाउने र मानसिक स्थिरता ल्याउने विश्वास गरिन्छ। पढाइमा ध्यान केन्द्रित गर्न र तनाव कम गर्न यो अभ्यास विशेष उपयोगी मानिन्छ।
दोस्रो अभ्यास थियो भ्रामरी ध्यान। यसमा विद्यार्थीले श्वास फेर्दा मौरी जस्तै गुनगुनाउने ध्वनि निकाल्दै ध्यान गर्छन्। यसले मनलाई शान्त पार्ने, चिन्ता कम गर्ने र आत्मविश्वास बढाउने प्रभाव पार्छ। बालबालिकामा भावनात्मक सन्तुलन कायम गर्न यो अभ्यास लाभदायी हुन्छ।
विद्यालयले यस पहलमार्फत विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई आत्मिक शान्ति, मानसिक स्वास्थ्य र सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने प्रयास गरेको छ। आधुनिक शिक्षासँगै ध्यानलाई जोडेर सम्पूर्ण व्यक्तित्व विकासमा सहयोग पुर्याउने विश्वास विद्यालयले व्यक्त गरेको छ।
