समयसँगै तीज मनाउने शैलीमा ठूलो परिवर्तन आएको छ । यो परिवर्तनले यस पर्वको मौलिकतालाई चुनौती दिएको छ । व्रत बस्नुभन्दा बढी देखासिकी, पहिरन र महँगा गरगहनामा ध्यान केन्द्रित हुन थालेको छ । दर खाने चलन दर पार्टीमा सीमित भई औपचारिकतामा परिणत भएको छ । पहिलेका लोकगीतमा सामाजिक चेतना र व्यथा हुने गथ्र्यो भने, अहिलेका गीतहरू बढी रोमान्स र नृत्यमा केन्द्रित हुन थालेका छन् । निराहार व्रतको मर्मभन्दा पनि सामाजिक दबाब र फेसनले यसलाई निर्देशित गरेको देखिन्छ ।
नारीको तपस्या, शिव–पार्वतीको प्रेम र वेदान्तको गहिरो दर्शन बोकेको पर्व
तिजको रमझम शुरु भएको छ । सोमबार दर खाएपछि तीन दिन मनाइदिने तिजको औपचारिक शुरुवात भएको छ । हिन्दु नारीले भाद्र शुक्ल तृतीयाका दिनमा मनाउने एक महत्वपूर्ण पर्व हो हरितालिका तिज । यो केवल एक व्रत मात्र नभई नेपाली र उत्तरी भारतीय समाजमा नारी शक्ति, सामाजिक अभिव्यक्ति र आध्यात्मिक निष्ठाको संगम हो ।
वेदान्त दर्शन र आध्यात्मिक निष्ठा
वेदान्त (उपनिषद् दर्शन) को दृष्टिबाट तीजलाई केवल धार्मिक अनुष्ठानभन्दा माथि आध्यात्मिक अभ्यासको रूपमा व्याख्या गरिन्छ । कठोर निराहार व्रत बस्नु भनेको इन्द्रियहरूलाई वशमा राख्ने तप हो । अभ्यास हो । यसले भौतिक इच्छा, भोक र लोभबाट मनलाई टाढा राख्न मद्दत गर्छ । मनको शुद्धीकरण अर्थात् आत्मशुद्धि गर्छ । यसरी बाह्य कुराबाट ध्यान हटाएर ईश्वरमा केन्द्रित हुनु भनेको मनलाई एकाग्र बनाउनु हो । यसलाई ज्ञान प्राप्तिको पहिलो खुड्किलो मानिन्छ । पौराणिक रूपमा शिवलाई पुरुष (ब्रह्म) र पार्वतीलाई प्रकृति (शक्ति) मानिन्छ । तीजको उत्सव मनाउनु भनेको सृष्टिको मूल तत्व अर्थात् भौतिकता र आध्यात्मिकताबीचको सन्तुलन र मिलनलाई स्वीकार गर्नु हो । व्रत बसेर पनि फलको आस नगरी समर्पण भाव राख्नु निष्काम कर्मको अभ्यास हो । यसलार्ई वेदान्तले महत्वपूर्ण मार्ग मान्छ ।
सामाजिक महत्व र भावनात्मक अभिव्यक्ति
तीन दिनसम्म चल्ने तीज पर्वमा पारिवारिक, सामाजिक र भावनात्मक महत्व जोडिएको छ । तीजको सुरुवात दर बाट हुन्छ । दरखाने दिन विवाहित छोरीचेलीलाई माइतीले घरमा बोलाएर वा भेटेर मीठा परिकार खुवाउँछन् । यो पारिवारिक माया र बन्धनलाई नवीकरण गर्ने अवसर हो । यस पर्वको अर्को महत्वपूर्ण पक्ष भनेको तीजका गीतहरूमा महिलाहरूले आफ्नो दुःख, पीडा, सामाजिक असमानता र चेलीबेटीका भोगाइलाई अभिव्यक्त गर्ने अवसर पाउनु हो । यो गीत–नाचको माध्यमबाट मनको भार हलुङ्गो बनाउने एक किसिमको सामाजिक चिकित्साका रूपमा लिइन्छ । यो पर्व पूर्ण रूपमा नारी–केन्द्रित छ । पार्वतीको कठोर साधनालाई उत्सवको रूपमा मनाउनु भनेको नारीको दृढता, त्याग र सहनशीलता (शक्ति स्वरूप) को सम्मान गर्नु हो ।
आधुनिकतासँगै आएको परिवर्तन
समयसँगै तीज मनाउने शैलीमा ठूलो परिवर्तन आएको छ । यो परिवर्तनले यस पर्वको मौलिकतालाई चुनौती दिएको छ । व्रत बस्नुभन्दा बढी देखासिकी, पहिरन र महँगा गरगहनामा ध्यान केन्द्रित हुन थालेको छ । दर खाने चलन दर पार्टीमा सीमित भई औपचारिकतामा परिणत भएको छ । पहिलेका लोकगीतमा सामाजिक चेतना र व्यथा हुने गथ्र्यो भने, अहिलेका गीतहरू बढी रोमान्स र नृत्यमा केन्द्रित हुन थालेका छन् । निराहार व्रतको मर्मभन्दा पनि सामाजिक दबाब र फेसनले यसलाई निर्देशित गरेको देखिन्छ । यद्यपि, प्रविधिले टाढा रहेका परिवारहरूलाई भर्चुअल रूपमा जोडिन र सांस्कृतिक चेतनालाई विश्वभर फैलाउन मद्दत पनि गरेको छ । तीज पर्वको बाहिरी रूप बदलिए पनि यसको आन्तरिक मर्म अर्थात् आत्मशुद्धि, निष्ठा र परिवारप्रतिको समर्पणको भावना आज पनि उत्तिकै महत्वपूर्ण छ ।



