प्राडा, सिद्धिबहादुर रञ्जितकार
जीवनको मूल्य र मनको भूमिका
भगवान् बुद्धले आफ्नै अनुभव र वातावरणलाई नियालेर भन्नुभएको थियो– यो पृथ्वी अत्यन्त रमणीय छ र यसमा मानव जीवन अत्यन्त सुखका साथ बिताउन सकिन्छ । मानव जीवन अत्यन्त दुर्लभ भएकाले यसलाई राम्रोसँग सम्हालेर जीवनलाई सुखमय बनाउनुपर्छ । यदि मानवले यस स्वर्गमय पृथ्वीमा सुखका साथ जीवनयापन गर्न जानेन भने, जीवनभर दुःखका साथ बाँच्नुपर्ने हुन्छ र यो दुर्लभ संसार अत्यन्त दुःखमय नै हुन्छ । त्यसैले, मानवले यस संसारमा सुखका साथ आरामदायी जीवन बिताउन केही आधारभूत कुराहरू सिक्नुपर्छ । त्यसअनुसार नै बाँच्नुपर्छ ।
मानव ठूलो मस्तिष्कका साथ जन्मिन्छन् र त्यसमा अत्यन्त बलियो मानव मन (चित्त) हुन्छ । त्यही मनले नै सुख–दुःखको निर्धारण गर्दछ । त्यसैले, मानवले सुखका साथ आरामदायी जीवन बिताउने हो भने मनलाई राम्ररी बुझ्नुपर्छ र सोहीअनुसार व्यवहार गर्नुपर्छ । अन्यथा, जीवन दुःखदायी र यो संसार नै दुःखमय हुन्छ ।
मनको कार्यप्रणाली र प्रतिक्रियाको असर
मन के हो ? मनका लागि मस्तिष्क हुनुपर्छ । मस्तिष्क नभएकोमा चित्त हुँदैन । त्यसैले, पहिलो कुरा त मस्तिष्क हुनुप¥यो । त्यो मस्तिष्कमा कुनै पनि बाहिरी सूचना प्राप्त हुनासाथ त्यसले बुझ्ने कोसिस गर्दछ र बुझ्छ पनि । उदाहरणका लागि, कुनै बाहिरी आवाज आइरहेको छ भने मनमा पुग्नासाथ मनले बुझिहाल्छ कि यो कुनै किसिमको आवाज हो । त्यसपछि, मनले त्यसको मूल्याङ्कन गर्दछ । यदि त्यो आवाज कुकुरको भुकाइ रहेछ, त्यसपछि फरक मनले प्रतिक्रिया गर्न थाल्छ । यसरी मनले चार भागमा काम गरिरहेको हुन्छ ः
१. मन (चित्त)ः सूचना प्राप्त गर्ने ।
२. मस्तिष्कः सूचनालाई ग्रहण गर्ने ।
३. बुझ्ने प्रक्रिया ः सूचनाको पहिचान गर्ने ।
४. मूल्याङ्कन गर्ने ः सूचना राम्रो÷नराम्रो, मनपर्ने÷नपर्ने छुट्याउने ।
मानवलाई सुख–दुःखको अनुभूति चौथो प्रक्रियामा पुगेपछि मात्र हुन्छ । यसपछि आउँछ, मानवले कसरी बाँच्न चाहेको भन्ने कुरा । यदि त्यो कुकुरको भुकाइलाई मानवले जस्तो छ, त्यस्तै सुनिदियो भने त्यसको शरीर, मन आदिमा कुनै किसिमको प्रभाव पर्दैन । तर, मानवले त्यो भुकाइलाई प्रतिक्रिया गर्दछ, अनि मानव शरीर र मानसिकतामा समेत नकारात्मक असर पर्दछ । यदि त्यो कुकुरको भुकाइ मन परेन भने तुरुन्त रिस उठ्दछ । त्यो रिसले मानवको भौतिक शरीरमा रासायनिक प्रक्रिया सुरु गर्दछ र शरीरलाई नकारात्मक असर पर्ने किसिमका पदार्थको सिर्जना गर्दछ । मन विचलित हुन्छ । अनि के गर्ने, के नगर्ने भन्ने कुरा ठम्याउन गाह्रो हुन्छ । यसले मन, मस्तिष्क र शरीरमा समेत प्रतिकूल असर पर्दछ र जीवन दुःखदायी हुन्छ ।
यसको विपरीत, यदि त्यो आवाज कुनै सुन्दर गायक वा गायिकाले गाएको गीत हो र आफूलाई मन पर्ने भएकोले पनि मन र शरीरमा असर पर्दछ । त्यसलाई निरन्तर सुनिराखौँ र त्यसबाट मनलाई आराम मिलोस् भन्ने चाहना हुन्छ । त्यो चाहनाले गर्दा पनि शरीरमा रासायनिक प्रक्रिया हुन्छ र मनमा अशान्ति जस्तै पैदा हुन्छ, किनभने मनले उक्त गीतलाई पुनः सुन्ने इच्छा गरेको हुन्छ ।
बुद्धत्व प्राप्तिका आधारभूत मार्गहरू
भगवान् बुद्धलाई जतिसुकै गालीगलौज गरे पनि कुनै किसिमको असर पर्दैनथ्यो किनभने उहाँको मनले प्रतिक्रिया गर्दैनथ्यो । बुद्धत्व प्राप्तिका लागि बुद्धले केही आधारभूत मार्गहरू बताएका छन् ः
१. शील (सदाचार)ः
शील अन्तर्गत तीन कर्म पर्दछन् ः
क) सम्यक् वचन ः आफ्नो वचनले कसैलाई पनि हानि–नोक्सानी नपु¥याउने ।
ख) सम्यक् कर्म (श्रम)ः आफ्नो कर्म (काम) जेसुकै होस्, धन कमाउने, जीवन निर्वाहका लागि सामान जुटाउने आदि सबै कार्यहरूले कसैलाई पनि कुनै किसिमको नकारात्मक असर नपार्ने ।
ग) सम्यक् आजीविका ः आफूले जीवन निर्वाह गर्दा कसैलाई कुनै असर नपुर¥याउने ।
यी नै बुद्धत्व प्राप्तिका लागि आधारभूत शील हुन् ।
२. समाधि (एकाग्रता)ः
यसपछि आउँछ समाधि, जसले गर्दा बुद्धत्व प्राप्त गर्ने मार्ग प्रशस्त गर्दछ । यस अन्तर्गत पर्छन् ः
क) सम्यक् व्यायाम ः मनले ठीकसँग अभ्यास गर्ने। यसका लागि बुद्धले विपश्यना भन्ने ध्यान गर्ने तरिका देखाउनुभएको थियो । त्यही मानसिक व्यायामले नै जो कोही मानवलाई पनि बुद्धत्व प्राप्त गर्ने मार्गमा डो¥याउँदछ ।
ख) सम्यक् स्मृति ः मनले ठीकसँग चिन्तन–मनन गर्ने । मनलाई पूर्ण रूपमा नियन्त्रणमा राखी सही मार्गमा मात्र लैजाने किसिमले निरन्तर विचारमा लीन हुनु नै हो ।
ग) सम्यक् समाधि ः माथि उल्लिखित दुई मार्गलाई सही तरिकाले पछ्याएपछि मन एकदम एकाग्र भई सही बाटोमा पर्दछ । त्यसरी समाधि अवस्थामा पुगेपछि त्योभन्दा माथिको तहमा पुग्न पूर्ण रूपले तयार हुन्छ ।
३. प्रज्ञा (ज्ञान)ः
अब अन्तिम चरणमा पुग्ने अवस्था आएको छ, जुन ज्ञान प्राप्त गर्नु हो । त्यसलाई प्रज्ञा भनिन्छ । प्रज्ञा अर्थात् ज्ञान प्राप्तिका लागि दुई कुराको अत्यन्त आवश्यकता हुन्छ । ती हुन् ः
क) सम्यक् सङ्कल्पः ज्ञान प्राप्तिका लागि समर्पित हुने सङ्कल्प गर्नुपर्दछ । त्यो ज्ञान प्राप्त भएपछि मात्र छाड्नु सम्यक् सङ्कल्प हो ।
ख) सम्यक् दृष्टि ः
यसरी सङ्कल्पमा बसेर ध्यानमग्न भएर ज्ञान प्राप्तिका लागि बसेपछि अन्तर्आत्माभित्रका आँखा खुल्दछन् । त्यसलाई भनिन्छ सम्यक् दृष्टि । यो अवस्थामा पुगेपछि बुद्धत्व प्राप्त गर्ने मार्गमा पुग्दछ ।
बुद्ध र बोधिसत्वको भिन्नता
निरन्तर प्रयासपछि बुद्धत्व प्राप्त गर्दछ । त्यसरी बुद्धत्व प्राप्त गर्नेलाई नै बुद्ध भन्दछन् । बुद्ध बन्नका लागि सम्पूर्ण अवस्थामा पुगिसकेको तर बुद्धत्व प्राप्त नगरी बुद्ध नभएर सबै प्राणीहरूका लागि उद्धार गर्ने हेतुले यस धर्तीमा नै बसेर निरन्तर रूपमा बुद्धमार्गमा ल्याउने कार्य गरिरहनुलाई नै बोधिसत्व भनिन्छ । बोधिसत्व प्राप्त भएपछि जुनसुकै समयमा पनि बुद्ध भएर निर्वाण प्राप्त गर्न सकिने हुन्छ ।
कर्मफल र सत्यको खोजी
बुद्धले प्रदान गर्नुभएको अर्को महत्वपूर्ण शिक्षा वा ज्ञान भनेको कर्मको फल हो । बुद्धले सारा संसारका मानवलाई अत्यन्तै बुझाउने र स्पष्ट रूपमा भन्नुभएको छ कि जो कोहीले जस्तोसुकै कार्य गरे पनि त्यसको फल प्राप्त हुन्छ, त्यो यही धर्तीमा नै । कुनै अन्य संसारमा वा मृत्युपछि होइन । त्यसैले, हरेक व्यक्ति सावधान भएर सबैको र आफ्नो पनि भलो हुने काम गर्नुपर्छ । त्यसो भएमा आफूलाई अत्यन्त राम्रो फल यस संसारमा र यस जीवनमा नै पाइन्छ । कुनै अन्य संसारमा के हुन्छ, के हुँदैन त्यसको विचार नगर्नु । सबै कुरा यस संसारमा नै हुन्छ ।
अरूको चित्त दुख्ने वचन बोले पनि पाप लाग्दछ । अरूको कुभलो चिताउनु त झन् ठूलै पाप हुन्छ । त्यसको परिणाम त यहीँ नै, यस समयमा नै पाइन्छ । त्यसैले, जुनसुकै कार्य गर्दा पनि अरूको अहित हुन्छ कि हुँदैन भन्ने कुरा ध्यानमा राख्नुपर्छ । यदि कसैलाई हानि–नोक्सानी हुन्छ भने, त्यस्तो कार्य कुनै हालतमा पनि गर्नुहुँदैन ।
बुद्धको अर्को ठूलो शिक्षा भनेको र सुनेको कुरालाई विश्वास गर्नुपर्छ भन्ने छैन । बुद्धले भनेका कुरालाई पनि अन्धविश्वासमा विश्वास गर्नु पर्दैन । बरु ती कुराहरू सत्य हुन् या होइनन्, जीवनमा व्यावहारिक छन् कि छैनन्, सो समेत बुझी जीवनमा उतार्नुपर्दछ । कसैले कसैलाई स्वर्ग पु¥याइदिन्छु, मरेपछि मालामाल गराइदिन्छु अथवा अर्को जन्मका लागि ऐश्वर्यपूर्ण जीवनको सुनिश्चितता गराइदिन्छु आदि कुराहरू विश्वास गर्नुभन्दा पहिले आफैँले ती कुरा सत्य हुन् या मिथ्या हुन्, पहिल्याउनुपर्छ ।
