गीता हिन्दू धर्मको एक महत्वपूर्ण धर्मग्रन्थ हो । यो महाभारतको भीष्म पर्व अन्तर्गत पर्छ । यसमा भगवान् कृष्णले युद्धभूमिमा अलमलमा परेका अर्जुनलाई जीवन, धर्म, कर्तव्य र मोक्षका बारेमा दिएको उपदेश समेटिएको छ । गीताको मुख्य सन्देशमध्ये एक हो कर्मयोग, जसले व्यक्तिलाई फलको आशा नगरी आफ्नो कर्तव्य निष्ठापूर्वक पालन गर्न सिकाउँछ । यो केवल आध्यात्मिक ग्रन्थ नभएर जीवन जिउने एउटा व्यावहारिक मार्गदर्शक पनि हो ।
श्लोक ११ः देवभाव र परम कल्याण
देवान् भावयतानेन ते देवा भावयन्तु वः । परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।।११।।
अन्वयः अनेन देवान् भावयत्, ते देवाः वः भावयन्तु । परस्परं भावयन्तः परं श्रेयः अवाप्स्यथ ।
यो यज्ञ (सद्भावपूर्ण कर्म) द्वारा देवताहरूलाई प्रसन्न पार । ती देवताहरूले तिमीहरूलाई प्रसन्न पारून् । यसरी आपसी सद्भाव राखेमा तिमीहरूलाई परम कल्याण प्राप्त हुनेछ ।
भाव विस्तारः हामीले गर्ने सद्भावपूर्ण कर्महरू (यज्ञ) मार्फत देवताहरूलाई प्रसन्न पार्नुपर्छ । यो सम्पूर्ण संसार विभिन्न दैवी शक्तिहरू (देवता) द्वारा सञ्चालित छ । मानिसलाई जीवन चलाउनका लागि आवश्यक पर्ने धेरै प्राकृतिक वस्तुहरू—जस्तै खुला आकाश, हावा, पानी, चन्द्रमा, सूर्य, अग्नि, पृथ्वी—सबै ईश्वरीय सिर्जना हुन् । यी सबै पूर्ण परब्रह्म परमात्मा श्रीहरिको निर्देशनअनुसार चल्छन् । श्रीहरिले नै आफ्ना अंशस्वरूप विभिन्न देवशक्तिहरूलाई यी प्राकृतिक वस्तुहरूको व्यवस्थापनको जिम्मा दिनुभएको छ ।
वैदिक धर्मले विभिन्न देवताहरूको अस्तित्व स्वीकार गरे पनि, अन्ततः एउटै पूर्ण परब्रह्म परमात्माको सर्वोच्चता स्वीकार गर्छ। उहाँलाई विश्वम्भर, विश्वात्मा, सर्वेश्वर जस्ता नामले पुकारिन्छ । जुनसुकै देवताको पूजा गरे पनि, अन्ततः त्यो सर्वेश्वर श्रीहरिको नै पूजा हुन्छ । जसरी सबै नदीहरू अन्तमा महासागरमै पुग्छन्, त्यसरी नै जुनसुकै देवताको अर्चना गरे पनि त्यो अन्तमा श्रीहरिमै पुग्छ । त्यसैले यहाँ ती विभिन्न देवशक्तिहरूलाई कृतज्ञतापूर्ण हृदयले सम्मान गर्न प्रेरित गरिएको छ ।
श्लोकको दोस्रो भागमा भनिएको छ– देवताहरूले पनि हामीलाई सन्तुष्टि दिन्छन् । यसको अर्थ यो होइन कि हामीले पहिले देवताहरूबाट केही अपेक्षा गरेर मात्र पूजा गर्ने । यसको तात्पर्य यो हो– हामी अनासक्त मनले र ईश्वरलाई अर्पण गर्ने भावनाले कर्म गर्छौं, त्यो नै वास्तविक यज्ञ बन्छ । यसरी सही तरिकाले कर्म गर्दा देवताहरू प्रसन्न हुन्छन् र उनीहरूले हामीलाई कृपा गर्छन् । यसरी आपसी सद्भाव र यज्ञको भावनाले अनासक्त कर्म गर्ने व्यक्तिहरू परम कल्याणका भागी हुन्छन् ।
श्लोक १२ः उपभोग र कृतज्ञताको महत्व
इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविताः । तैर्दत्तानप्रदायैभ्यो यो भुङ्क्ते स्तेन एव सः ।।१२।।
अन्वयः यज्ञभाविताः देवाः वः इष्टान् भोगान् हि दास्यन्ते । तैः दत्तान् सभ्यः अप्रदाय यः भुङ्क्ते स स्तेन एव ।
सरल अर्थः
यज्ञ (सद्भावपूर्ण कर्म) द्वारा सम्मानित गरिएका देवशक्तिहरूले तिमीलाई चाहिने सबै भोग्य वस्तुहरू दिन्छन् । उनीहरूले दिएका ती वस्तुहरूलाई उनीहरूप्रति अर्पण नगरी जो उपभोग गर्छ, त्यो चोर नै हो।
भाव विस्तारः
पृथ्वी, आकाश, हावा, पानी, चन्द्रमा, सूर्य र अग्निबाट हामीले खुला जीवन, पोषण, ऊर्जा, प्रकाश र उचित तापक्रम जस्ता आधारभूत आवश्यकताहरू पाउँछौँ । यी सबै देवशक्तिहरूबाट प्राप्त हुन्छन् । भगवान् श्रीहरिका निर्देशअनुसार यी देवशक्तिहरूले कसैले माने पनि नमाने पनि जगतको हितका लागि निरन्तर काम गरिरहेका हुन्छन् र यज्ञ सम्पादनमा सहयोगी बन्छन् ।
हामी यी देवशक्तिहरूसँग कृतज्ञ मनले सद्भाव राख्दा उनीहरूको विशेष कृपा दृष्टि हामीमाथि रहन्छ । कृतज्ञताले सद्बुद्धि र सद्भावनाले लाभान्वित हुन्छ र जीवनमा सफलताको शिखरमा पुग्न सक्षम हुन्छ । यहाँ देव आराधनाको सर्वोच्च सद्बुद्धि प्राप्तिको कुरा गरिएको छ । शास्त्रहरूमा भनिएको छः ‘देवताहरू गोठालाले गाईबस्तुलाई लौरोले हाँकेझैँ मानिसलाई हाँक्दैनन् । जसलाई उनीहरू अनुग्रह गर्न चाहन्छन्, त्यसलाई सद्बुद्धिले युक्त बनाइदिन्छन् ।’
न देवा यष्टिमादाय रक्षन्ति पशुपालवत् । यस्यानुग्रहमिश्चन्ति बुद्ध्या संयोजयन्ति तम् ।।
जसले समृद्धि प्राप्त गर्छ, उसले आफूसँग भएका हरेक वस्तुको सदुपयोग गर्छ, दुरुपयोग हुन दिँदैन । समयको सदुपयोग, श्रमशक्तिको सदुपयोग, धनको सदुपयोग, बलको सदुपयोग—यसरी सदुपयोगको चेतना भएको मानिस स्वयं समृद्धिको बाटोमा हुन्छ । त्यस्तै व्यक्तिले मात्र सुखमय, समृद्धिमय र शान्तिमय जीवन प्राप्त गर्छ ।
हामी देवशक्तिहरूबाट विमुख रहेर उनीहरूप्रति सद्भाव नराखी जीवनमा प्राप्त सुविधाहरूको आफूमात्रै एकलौटी उपभोग गर्छौँ भने, त्यस्तो मानिस चोर समान हुन्छ र उसले सजायबाट उम्कन पाउँदैन । यी विभिन्न देवशक्तिहरू सर्वशक्तिमान् भगवान् वायुदेवका नै विभिन्न स्वरूप हुन् । उनीहरूप्रति कृतज्ञ रहेर श्रद्धापूर्वक अर्चना गर्दै उचित सम्मान ग¥यो भने उऋण बन्ने सुअवसर प्राप्त हुन्छ ।
श्लोक १३ ः यज्ञशिष्ट भोजन र पापबाट मुक्ति
यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषैः । भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ।।१३।।
अन्वयः यज्ञशिष्टाशिनः सन्तः सर्वकिल्बिषैः मुच्यन्ते। ये आत्मकारणात् पचन्ति, ते पापास्तु अघं भुञ्जते।
सरल अर्थः
यज्ञको भावनाले ती देवशक्तिहरूलाई अर्पण गरेर बाँकी रहेको भोजन जसले गर्छ, ती सबै पापबाट मुक्त हुन्छन् । जो चाहिँ आफ्नो पेट भर्न मात्रै लक्ष्य राखेर खानेकुरा पकाउँछन्, ती पापात्माहरू गाँस गाँसमा पाप खाइरहेका हुन्छन् ।
भाव विस्तारः
मानव जीवनलाई सुखी र भावनापूर्ण बनाउन शास्त्रहरूले विभिन्न यज्ञहरूको व्यवस्था गरेका छन् । सामान्य गृहस्थ जीवनका लागि पाँच प्रकारका पञ्च महायज्ञहरू कर्तव्य मानिन्छन् ः
देवयज्ञ ः हरेक दिन भगवान्को पूजा, अर्चना, आरती, स्तुति, वन्दना, होम आदि गर्नु ।
ऋषियज्ञ ः प्रतिदिन वेद, उपनिषद्, रामायण, महाभारत, भागवतादि पुराणहरू र यस्तै धर्मग्रन्थहरूको केही अंश पाठ गर्नु ।
मनुष्ययज्ञ ः घरमा आएका अतिथिहरूको श्रद्धापूर्वक स्वागत सत्कार गर्नु ।
पितृयज्ञ ः आफ्ना पितृ (बुबा, बाजे आदि) र पुर्खाहरूप्रति कल्याणको कामना गरेर श्राद्ध तर्पण आदि गर्नु ।
भूतयज्ञ ः आफूसँग भएको खानेकुराबाट प्राणी मात्रको भलो चिताई पशुपक्षीलाई पनि केही भाग दिनु ।
यी पञ्च महायज्ञहरूबाहेक, शास्त्रले द्रव्ययज्ञ (दान, परोपकार आदि), तपोयज्ञ, यागयज्ञ, स्वाध्याययज्ञ, ज्ञानयज्ञ, जपयज्ञ आदि अनेकौँ यज्ञहरूको विधान गरेका छन् ।
यसरी यी यज्ञहरू सम्पन्न गरेर सर्वेश्वर भगवान् वासुदेव र उहाँका स्वरूपहरूको सेवामा लगाएर बाँकी बचेका खाद्य पदार्थहरूलाई ‘प्रसाद’ को भावनाले ग्रहण ग¥यो भने मानिसको जीवन पवित्र हुन्छ । यसबाट भगवान्प्रति कृतज्ञ बन्ने र उत्तम अवसर प्राप्त गर्ने मौका मिल्छ।
यदि हामीले परमात्माकै कृपाबाट प्राप्त भएका पृथ्वी, हावा, पानी, चन्द्रमा, सूर्य आदि पदार्थहरूबाट पलपल उपकृत हुँदा पनि उहाँप्रति कृतज्ञ हुने भावना नै नराखी संसारका वस्तुहरूको उपभोग मात्र ग¥यौँ भने कृतघ्नताको ठूलो दोष लाग्छ ।
त्यसैले, भावनाशून्य रूपमा सृष्टिका स्वामीलाई बिर्सी उपभोग गरिने वस्तुहरूका गाँस–गाँसमा पाप खाइन्छ । भगवान्प्रति भक्ति भावना राखेर प्रसादका रूपमा उपभोग गर्दा प्रत्येक वस्तु अमृतमय बन्दछ । तर, भक्तिविहीन मनले प्रभुलाई बिर्सेर वस्तुहरूको उपभोग गर्दा चाहिँ गाँस–गाँस दोषमय बन्न पुग्छ ।
यस श्लोकमा भोजनको प्रत्येक गाँसलाई अमृतमय बनाउने सल्लाह दिइएको छ । यो विकृतिग्रस्त भौतिक वातावरणको प्रदूषणबाट मुक्त भएर आत्मानुभूतिको पथमा अघि बढ्नका लागि प्रज्वलित आध्यात्मिक चेतनाको एउटा अचूक उपाय हो ।
