- साउनमा जल अर्पण गर्दै शिव आराधना गरिन्छ; लेखकले दुप्चेश्वर महादेवको दर्शन गरेका छन्, जुन सानो पशुपति मानिन्छ।
- सेतोपुलदेखि समुन्द्रटारसम्मको यात्रा रोमाञ्चक रहृयो; झोलुङ्गेपुल पार गरेर मन्दिर प्रवेश गरियो।
- गाईले दूध चढाएको स्थानमा महादेव प्रकट भएको किंवदन्ती छ; भक्तजनहरू विवाह, सन्तान र पशु सन्तानको कामनासहित भाकल गर्छन्।
अर्जुन लामिछाने
नुवाकोट- साउन महिना विशेष गरी भगवान् शिवको आराधना र उपासना गर्ने महिना हो। भगवान् शिवलाई आशुतोष भनेर पनि चिनिन्छ। थोरै मात्र भक्तिले पनि प्रसन्न हुने भएकाले उहाँलाई आशुतोष भनिएको हो। यसको ज्वलन्त उदाहरण उहाँ जलप्रेमी हुनुले नै पुष्टि गर्दछ। साउन महिना जताततै पानीका मूल फुट्ने महिना हो। साउनमा पानीभन्दा सस्तो र सजिलै उपलब्ध हुने कुरा के हुनसक्ला र? साउनमा शिवजीलाई चढाइने महत्त्वपूर्ण सामग्री पनि जल नै हो। यसैले जल चढाउनकै लागि साउन महिनामा लाखौँ भक्तजनहरू “बोलबम, बोलबम” भन्दै शिवालयहरूमा जान्छन्। यही साउन महिनाको अन्तिम दिन, ३१ गते शनिबार, शिवालयको दर्शन गर्ने क्रममा हाम्रो रोजाइमा पर्यो नुवाकोटको दुप्चेश्वर महादेव ।
अघिल्लो दिनको योजनाअनुसार बिहानै नित्यकर्म सकी आफ्नो निवास सेतोपुलबाट करिडोरको बाटो हुँदै सुकेधारा पुग्यौँ। त्यहाँबाट नगरबस चढी सामाखुसी ओर्ल्यौँ। केही समयमा भतिज प्रकाश त्यहीँ आयो, नजिकैको पेट्रोलपम्पमा अर्का सहयात्री सुजन श्रेष्ठलाई केहीबेर प्रतीक्षा गरियो। उनी आएपछि हामी दुईवटा मोटरसाइकलमा तीन जना दुप्चेश्वर यात्रामा अगाडि बढ्यौँ ।

हाम्रो यात्रा सामाखुसी–टोखा रोडबाट करिब ६ः४५ बजे आरम्भ भयो। त्यहाँबाट टोखा–सपनतीर्थ–झोर हुँदै शिवपुरी–गुर्जेभञ्याङ पार गरेपछि काठमाडौँलाई पछाडि पारेर हामी नुवाकोट जिल्लातर्फ अगाडि बढ्यौँ। नुवाकोटको शिवपुरी गाउँपालिकाअन्तर्गतको त्यो ओरालो बाटोको यात्रा निकै रोमाञ्चक रह्यो। हरियाली जङ्गल, दर्जनौँ खोल्साहरूमा माथिबाट झरेका झरना, ढलान गरिएको पक्की सडक, ठाउँठाउँमा चियापसल, होटल र रिसोर्ट, तर प्रायः सबै जङ्गलले घेरिएको यस्तै रमाइलो यात्रा गर्दै हामी छहरे झरेको पत्तै भएन। छहरेबाट फराकिलो थानसिङ फाँटको यात्रा पूरा गरी हामी लिखु खोलाको मोटरपुलमा पुग्यौँ। सो पुलबाट दुप्चेश्वर महादेव उत्तरतर्फ अवस्थित छ भने नुवाकोट सदरमुकाम विदुर पश्चिमतर्फ।
लिखु खोलाको पुलमा दुप्चेश्वर महादेव मन्दिरसम्मको दूरी २५ किलोमिटर लेखिएको रहेछ, त्यसैले आधाभन्दा बढी बाटो काटिएको महसुस भयो। किनकि त्यहाँबाट काठमाडौँ–टोखासम्मको दूरी ३१ किलोमिटर लेखिएको थियो। हामी पुल पार गरेर सिधै उत्तरतर्फ अगाडि बढ्यौँ। पञ्चकन्या गाउँपालिकाको पट्टाबारी, शहरेटार हुँदै हामी तादी नदीको पुल पार गर्न पुग्यौँ। त्यसपछि सिधै उत्तरतर्फ यात्राको क्रममा लिखु गाउँपालिकाअन्तर्गत दोर्जे खोला पार गरेर सल्लाघारीको उकालो पार गरेपछि खराने टार, सातबिसे हुँदै हामी समुन्द्रटारको वारिपट्टि पुग्यौँ। त्यहाँसम्मको बाटो प्रायः पिच नै थियो। त्यहाँ ‘दुप्चेश्वर महादेव ४.५ कि.मि.’ भनेर लेखिएकोले हाम्रो गन्तव्य टाढा नरहेको हामीलाई स्पष्ट भयो।
त्यहाँबाट अझ उकालो लाग्ने क्रममा बाटो अलि अप्ठ्यारो हुँदै गएको महसुस भयो। अघिल्लो दिनतिर खाल्टाखुल्टीमा ग्राभेल भरिएको रहेछ, त्यसैले यात्रा केही सहज भयो। त्यसबीचमा एउटा निकै ठूलो पहिरो आएर केही दिनअगाडि सडक अवरुद्ध गरेको रहेछ। तर त्यसले यात्रालाई बाधा पुर्याएन। त्यहाँबाट अगाडि बढ्दै हामी रामती गाउँमा पुगेपछि दुप्चेश्वर महादेव मन्दिरको चहलपहल देखियो। त्यहाँबाट केही अगाडि बढेर हामी मुख्य सडक छोडेर बायाँ तादी खोलाको किनारतर्फ अगाडि बढ्यौँ। नदीको किनार पुग्नै लाग्दा त्यहाँ एउटा हाइड्रोपावरको ड्याम बनाउँदै गरेको देखियो। त्यसैको नजिक मोटरसाइकल पार्किङ गरी त्यहीँसँगै रहेको फूलपसलमा केही पूजा सामग्री खरिद गरी हामी मन्दिरतर्फ अगाडि बढ्यौँ।
त्यहाँबाट तादी खोला (जसलाई सूर्यकुण्डबाट उत्पत्ति भई आएकी हुनाले सूर्यखोला पनि भनिँदो रहेछ) पार गर्न झोलुङ्गेपुल बनाइएको छ। झोलुङ्गेपुल हल्लिने हुँदा कतिपय तीर्थयात्रीलाई यात्रामा असहज महसुस भएको पनि पाइयो। त्यहाँबाट सिधै मन्दिर दर्शनका निम्ति पहराको फेदीमा पुग्यौँ। जुत्ताचप्पल र्याकमा राखेर धारामा हातगोडा धोई सिँढी हुँदै अगाडि बढ्यौँ। सिँढीमा दुवैतर्फ रेलिङ, माथितर्फ फाइबरको छाना, मन्दिर दर्शन गर्न जाने र फर्कने प्रयोजनका निम्ति छुट्टै मार्ग, असक्त र ज्येष्ठ नागरिकका निम्ति अलग मार्ग, निकै व्यवस्थित गरिएको महसुस भयो।
करिब ४० मिटरजति भक्तजनहरू हामीभन्दा अगाडि मन्दिर दर्शनका निम्ति लाइनबद्ध थिए, हामी पनि लाइनमै प्रतीक्षामा बस्यौँ। गणेश अनि देवीको दर्शन गर्दै हाम्रो मूल गन्तव्य दुप्चेश्वर महादेवको समीप पुग्यौँ। आफूले लगेका सामग्रीले आफैँले पूजा गर्न पाइने, दूध, गङ्गाजल आदिमा कुनै रोकतोक लगाइएको रहेनछ। मैले पनि अन्य पूजा सामग्रीका अतिरिक्त दूध पनि लगेको थिएँ, भगवान्को शिरमा अभिषेक गराउन पाउँदा निकै आनन्दानुभूति भयो। दर्शन–पूजा सकिएपछि फर्कने क्रममा अलि अगाडि धुप–दीप बाल्ने स्थान रहेछ, बालेर भगवान्लाई अर्पण गरी ओरालो लाग्यौँ। अझ तल झर्दा त्यहाँ स्थापना गरिएका १२ ज्योतिर्लिङ्गसहितका शिवलिङ्ग दर्शन गरेर जुत्ताचप्पल कक्षमा आई आआफ्नो जुत्ताचप्पल लगाएर हातगोडा धोई झोलुङ्गेपुल हुँदै केही तस्बिर कैद गरी मोटरसाइकल पार्किङ गरिएको स्थानमा आयौँ। फर्कने क्रममा नागबेली नदी, हरिया फाँट, अग्ला पहाडका मनमोहक दृश्यावलोकन गर्दै बीचमा फलफूल र हल्का नास्ता गरी अपरान्ह ४ः०० बजे निवास आइपुग्यौँ।
दुप्चेश्वर मन्दिरलाई ‘सानो पशुपति’ पनि भनिँदो रहेछ। भगवान् पशुपतिनाथ र यहाँको मन्दिरको उत्पत्तिको विषयमा एकै प्रकारको किंवदन्ती प्रचलित रहेको पाइयो। यो मन्दिर पनि गाईले पत्ता लगाएको मान्यता रहेछ। पौराणिक कथनअनुसार करिब चार सय वर्षअघि एक स्थानीय वासु तामाङको दुहुनो गाई गोठालोमा हराएपछि सपनामा उनलाई गाई रहेको स्थानबारे एक जोगीले जानकारी गराएका र त्यसपश्चात् गाउँलेहरू ठाडो पहरामा रहेको उक्त स्थानमा लठ्ठा चढी हेर्न जाँदा उक्त गाईले स्वउत्पत्ति भएका महादेवको मन्दिरमा आफ्नो चारवटै थुनबाट दूध चढाइरहेको भेटिएपछि ‘दुधेश्वर’ बाट अपभ्रंश हुँदै ‘दुप्चेश्वर’ नामकरण हुन गएको भनाइ छ। अर्को समानता के रहेछ भने यो मन्दिर पनि गौचरनको समीपमा रहेको पाइयो।
दुप्चेश्वर गाउँपालिका वडा नं. ६ (साविक राउतेबेसी गाविस) मा अवस्थित यस महादेव मन्दिर पछिल्लो समय नुवाकोटको मात्रै नभई धादिङ, रसुवा, काठमाडौँ, गोर्खा लगायतका जिल्लाका भक्तजनहरूको प्रमुख गन्तव्यको रूपमा विकसित हुँदै गएको पाइयो। यहाँबाट गोसाइँकुण्ड जाने सबैभन्दा छोटो पदमार्ग भएकोले समेत यो मन्दिरमा भक्तजनको चहलपहल अझ बढेको हो।
यो मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको समान आस्थाको केन्द्रको रूपमा लिइन्छ। अन्य शिवालयहरूमा जस्तै साउने सोमबार, बालाचतुर्दशी, शिवरात्री आदि पर्वहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने भए पनि धान्यपूर्णिमा (मार्ग शुक्ल पूर्णिमा) को अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ। भक्तजनहरू आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ यस महादेवको दर्शन गर्ने गर्दछन्। विशेष गरेर विवाह नभएकाहरूको विवाह हुने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने, नब्याएका गाईवस्तुको समेत दाम्लो लगेर चढाएमा ती गाईवस्तु ब्याउने विश्वासका साथ भक्तजनहरूले भाकल गर्ने गरेका र सो भाकल पूरा भएपछि यस मन्दिरप्रति अझ विश्वास बढेको स्थानीयहरूको भनाइ पाइयो ।
