किन डब्लुएचओले अटिजमलाई विश्वव्यापी स्वास्थ्य संकट भन्यो ?
काठमाडौ, १६ भदौ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अटिजमलाई विश्वव्यापी स्वास्थ्य संकट (Global Public Health Crisis) भनेको छ । यसका पछाडि केही प्रमुख कारणहरू छन्। यसका धेरै कारणहरू भए पनि यहाँ केही मुख्य कारणहरूलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ।
बढ्दो दर र व्यापकता
पछिल्लो तथ्याङ्क अनुसार विश्वको १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम देखिएको छ। सन् २००० मा हरेक १५० जना बालबालिकामध्ये एकमा अटिजम देखिन्थ्यो भने सन् २०२४ सम्म आइपुग्दा यो संख्या हरेक ३६ जनामा एक पुगेको छ। नेपालमा पनि जनगणना अनुसार ४,८८४ जनामा अटिजम देखिएको भए पनि डब्लुएचओको अनुमान अनुसार यो संख्या करिब ३ लाख हुन सक्छ।
सामाजिक र व्यवहारिक चुनौतीहरू
अटिजम भएका व्यक्तिहरूलाई सामाजिक अन्तरक्रिया, सञ्चार र कल्पना शक्तिमा कठिनाइ हुन्छ। उनीहरू सामान्य शिक्षण विधिबाट सिक्न सक्दैनन्, परिवर्तन मन पराउँदैनन् र दैनिक जीवनमा प्रायः अरूको सहयोगमा निर्भर रहनुपर्छ।
अदृश्यता र गलत पहिचान
अटिजमका लक्षणहरू बाहिरबाट सजिलै नदेखिने हुँदा अभिभावक, शिक्षक र स्वास्थ्यकर्मीहरूले यसलाई चिन्न कठिन हुन्छ। धेरै बालबालिकालाई बौद्धिक अपाङ्गताको गलत पहिचान दिइन्छ, जसले गर्दा उनीहरू सही उपचार र सहयोगबाट वञ्चित हुन्छन्।
प्रारम्भिक हस्तक्षेपको अभाव
अटिजमका लक्षणहरू छ महिनादेखि नै देखिन थाले पनि धेरै अभिभावकले यसलाई बेवास्ता गर्छन्। तर प्रारम्भिक थेरापी र सही शिक्षा योजनाले अटिजम भएका बालबालिकाको अवस्थामा ८० देखि ९० प्रतिशतसम्म सुधार ल्याउन सक्छ।
नीति र संरचनाको अभाव
धेरै देशमा अटिजमसँग सम्बन्धित स्पष्ट नीति, उपचार निर्देशिका र जनचेतना कार्यक्रमको अभाव छ। नेपालमा पनि अटिजमलाई लामो समयसम्म बौद्धिक अपाङ्गताभित्र राखिएको थियो र हालै मात्र यसको रोकथाम र हेरचाहका लागि निर्देशिका तयार पार्ने समिति गठन गरिएको छ।