केशवप्रसाद चौलागाईं, धर्माचार्य
ललितपुर, १५ भदौ ।
प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन ललितपुरमा आयोजना गरिने दशमहाविद्या पीठहरूको पूजन तथा नगरपरिक्रमा यस वर्ष भाद्र १५ गते सम्पन्न भयो। टंगल टोलस्थित काली पीठबाट प्रारम्भ भएको पूजन क्रमशः भैरवी, पूर्णचण्डी, तारा, भुवनेश्वरी, बगलामुखी, धुमावती, मातङ्गी, छिन्नमस्ता तथा बालकुमारी पीठमा विधिपूर्वक सम्पन्न भई अन्त्यमा पुनः काली पीठमा समापन गरिएको थियो। सबै पीठमा गुरुजनद्वारा यन्त्रसहित गरिने पूजनले यसलाई सिद्धिदायक बनाएको छ। पूजनको दृश्य अत्यन्त मनमोहक थियो, जसले भक्तजनको आस्था र नगरको सांस्कृतिक गरिमालाई उजागर गर्यो।

शास्त्रीय सन्दर्भमा पनि दशमहाविद्याको पूजनको गहिरो महत्व छ। “नमो देव्यै महादेव्यै शिवाय सततं नमः” भन्ने मन्त्रले भगवतीप्रति देवताहरूको समर्पण प्रकट गर्छ। सौम्यशक्तिका रूपमा दशमहाविद्या पूजनले महानगरको रक्षा मात्र होइन, सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्याउने विश्वास गरिन्छ। अमूर्त सम्पदाको दृष्टिले हेर्दा यो पूजन ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ।

यस पूजनमार्फत ललितपुर महानगरले सिद्ध महालक्ष्मीको वरदान प्राप्त गरेको विश्वास गरिएको छ। द्वन्द्व व्यवस्थापन, मेलमिलाप र स्वराज्यको अभ्यासमा यस पूजनले गहिरो प्रभाव छोडेको छ। सबै वर्ग र समुदायको सहभागितामा सम्पन्न हुने नगरपरिक्रमाले जनताको आत्मीयता र समावेशी भावनालाई उजागर गर्छ। स्थानीय सरकार सञ्चालन ऐनमा न्यायिक समितिको प्रावधान भए तापनि वास्तविक मेलमिलापको दृश्य यस्ता सांस्कृतिक पूजनमा देखिन्छ। यसले संस्कृति, स्वराज्य र समाजवादको मूर्तरूप प्रस्तुत गर्दै मौलिक शासकीय अभ्यासको उदाहरण बनाएको छ।
श्रीनिवास मल्लका पालामा कुनु शर्माद्वारा लेखिएको कीर्तिपताकामा उल्लेख गरिएको “नत्वा गोरक्षमत्स्येन्द्रौ…” भन्ने श्लोकले गणेश आराधनाको महत्व दर्शाउँछ। जसको आराधना गरेर देवता, दैत्य र स्वयं महादेवले पनि सिद्धि प्राप्त गरे, ती गणेशले जनताको दुरित दूर गरून् भन्ने कामना आज पनि जीवित छ। दशमहाविद्या पूजन, मत्स्येन्द्रनाथको जात्रा र मतयः परम्पराले कीर्तिपताकाको उद्देश्यलाई निरन्तरता दिइरहेका छन्।
तीन सय वर्षभन्दा अगाडि टंगल टोलको वर्णनमा उल्लेख गरिएझैं, आज पनि यहाँका मण्डप, देवल, कुवा, धाराहरू, फूलबारी र जनजीवनले टोलको गरिमा बढाइरहेका छन्। टोलबासी र महानगरपालिकाले योजनाबद्ध ढंगले नयाँ पुस्तालाई यस्ता सांस्कृतिक धरोहरबारे जानकारी गराउनु आवश्यक छ। यसले न केवल सांस्कृतिक चेतना बढाउँछ, तर स्वराज्यको अभ्यासलाई पनि सुदृढ बनाउँछ।
दशमहाविद्याले सबैको कल्याण गरून
