काठमाडौं, भदौ ७ ।
अक्षरा स्कुलको आयोजनामा तथा लालाबालाको सहकार्यमा काठमाडौंको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा सम्पन्न दोस्रो राष्ट्रिय नाटक महोत्सवले बाल–अभिनयको उज्यालो फैलायो। पाँच दिनसम्म चलेको महोत्सवले देशभरका १७ विद्यालयका बाल–मनहरूलाई संवाद, अभिनय र सन्देशको रंगमञ्चमा उभ्यायो।

कवि तथा अभिनेता विजय बरालको प्रमुख आतिथ्यमा उद्घाटन भएको महोत्सवको समापन शुक्रबार भयो। अन्तिम दिन लिटिल एन्जल्स स्कुलले ‘भिरमा फुलेका फूल’, पवन प्रकृति स्कुलले ‘पिता…??’, पिक प्वाइन्ट एजुकेसन नेटवर्कले ‘यशस्वी भवः’ र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले ‘समीर नाचेको दिन’ प्रस्तुत गरे।

यसअघि भ्याली भ्यु स्कुलले ‘इच्छा भर्सेस समय’, ग्ल्याडस्टोन एकेडेमीले ‘गीता’, आकाशगंगा इन्टरनेसनल एकेडेमीले ‘बैमानी काल’, ग्लोबल पब्लिक स्कुलले ‘The Tale of Indra Jatra’, निस्ट स्कुलले ‘पार्वती’, कान्जिरोवा राष्ट्रिय माविले ‘दुःखी राजकुमारी’, हिमालयन ह्वाइट हाउस स्कुलले ‘The Greek Mythology OlymPiaganza’, टाइम्स इलिमेन्ट्री स्कुलले ‘दुःखी राजकुमारी’, रोजबड स्कुलले ‘परदेशको स्कुल’, क्रिएटिभ एकेडेमीले ‘सपनासँगको शून्यता’, द जोय हाउस कलेक्टिवले ‘द जोय माछाको रंगीन सपना’, काष्ठमण्डप विद्यालयले ‘The Internet is a Distract – Oh look, a kitten!’ र आयोजक अक्षरा स्कुलले ‘मोक्षको मार्ग’ मञ्चन गरेका थिए।

अभिनयमा शिक्षा, संवादमा संस्कार
समापन समारोहमा आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिन्। उनले साहित्य, संगीत, कला र संस्कृति मानव जीवनका अभिन्न अङ्ग भएको उल्लेख गर्दै विद्यालय तहमै अभिनयात्मक कला सिकाउनु आवश्यक भएको बताइन्।
“साहित्य समाजको दर्पण हो, जसबाट बालबालिकाले सामाजिक मूल्य–मान्यता, संस्कार र संस्कृतिसहित जीवनका सम्पूर्ण पक्षको अध्ययन गर्न सक्छन्। नाटकजस्तो संवादात्मक र अभिनयात्मक प्रस्तुतिले सिकाइलाई सहज बनाउने भएकाले अभिनयलाई कक्षा कोठाभित्रै सिकाउन आवश्यक छ,” उनले भनिन्।
‘थिएटर इन एजुकेसन कार्यक्रम’ अन्तर्गत प्रस्तुत भएका नाटकहरू केवल अभिनय थिएनन्—यी त बालबालिकाको दृष्टिकोण, उनीहरूको प्रश्न, र कल्पनाको उज्यालो थिए। प्रत्येक नाटकले फरक कथा बोकेको थियो—कहीँ समयसँगको संघर्ष, कहीँ संस्कृतिको पुनरावलोकन, त कहीँ बाल–कल्पनाको रंगीन संसार।
समापन कार्यक्रममा नेपाली चलचित्र निर्देशक तथा पटकथा लेखक प्रदीप भट्टराईसहित विभिन्न क्षेत्रका कलाकारहरूको उपस्थिति थियो। यसअघि पहिलो संस्करण लालाबालाले आयोजना गरेको थियो। यसपटक अक्षरा स्कुलले महोत्सवलाई शिक्षा, कला र संस्कृतिको संगम बनाउँदै, बाल–अभिनयलाई राष्ट्रिय स्तरमा उभ्याएको छ ।

