कमला केसी
दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि कलम चलाउने लेखक हुन् । पत्रकारितामा सक्रिय न्यौपानेले बालबालिका, बालमनोविज्ञान, शिक्षा, सिकाइ, बालव्यवहारलगायत सम्पदा, ऐतिहासिक धरोहरजस्ता विषयवस्तुमा पनि कलम चलाउने लेखक मानिन्छन् । उनले लेखेको असल अभिभावकत्व विषयको पुस्तकलाई विभिन्न कोणबाट समीक्षा गरी हेर्न सकिन्छ ।
पुस्तकको सारांश
बालबालिका माटो हुन्, उनीहरूलाई जस्तो आकारमा अगाडि बढाउन खोज्यो, त्यस्तै आकारमा बदलिन्छन् । आजको समाजमा हामी बालबालिकालाई केवल अङ्कमा मात्र मूल्याङ्कन गर्न खोजिरहेका छौं । विद्यालयले पाठ्यक्रममा भएका सम्पूर्ण पाठ्यपुस्तक त पढाउँछन् तर जीवन जिउने कला र संस्कार कहाँबाट सिक्ने ? यस्ता विषयलाई यस पुस्तकले उठान गरेको छ । आजका बालबालिका मोबाइलको लत, सामाजिक सञ्जालको होडबाजी र मानसिक दबाबको समस्यामा फसेका छन् । यो परिस्थितिमा उनीहरूलाई उपदेशले काम गर्दैन । बालबालिकाले हाम्रा शब्द होइन, हाम्रो व्यवहारलाई अनुकरण गरेका हुन्छन् त्यसैले हामी सबै अभिभावकले आफ्नो व्यवहारलाई कसरी बालबालिकामैत्री बनाउने भन्ने विषय पनि यस पुस्तकको मुख्य विषय हो ।
लेखक न्यौपानेले लामो समयसम्म शिक्षा, सिकाइ, बालबालिका, बालमनोविज्ञान आदि क्षेत्रमा गरेको अनुसन्धानबाट जबसम्म अभिभावकत्वको जड बलियो र सकारात्मक हुँदैन, असल सन्तान बनाउनै सकिँदैन भन्ने निष्कर्ष निकालेका छन् । यस पुस्तकमा मोबाइल नियन्त्रणका व्यावहारिक तरिका, करियर मार्गदर्शिका मनोवैज्ञानिक पाठहरू र पूर्वीय दर्शनले सिकाएको स्वधर्मको दर्शनलाई पनि समावेश गरिएको छ । सफलताको बैंक ब्यालेन्स मात्र होइन, ठूलो घर मात्र होइन, साँचो सफलता त सन्तानको चरित्र हो, उसको आन्तरिक समृद्धि हो । उसले समाजमा छोड्ने सकारात्मक सन्देश हो भन्ने कुरालाई यस पुस्तकमा मार्मिक रूपमा उठाइएको छ । बालबालिकाले हाम्रा शब्द होइन, हाम्रा चरित्र र व्यवहारको अनुकरण गर्ने भएकाले हाम्रो व्यवहार बालबालिकामैत्री हुनुपर्छ । बालबालिकालाई असल सन्तान बनाउनको लागि पहिला हामी आफैँ सचेत अभिभावक बन्नु अनिवार्य छ । यो पुस्तक ती हरेक अभिभावकको लागि समर्पित छ, जो आफ्नो सन्तानलाई दबाब र डरबाट मुक्त गराएर आत्मविश्वास र विवेकका साथ हुर्काउन चाहन्छन् ।
पुस्तकको सकारात्मक पक्ष
यस पुस्तकमा हिन्दु धर्मका निकै उपयोगी भनाइसहित बालमनोविज्ञानको सूक्ष्म र सरल प्रस्तुतीकरण गरिएको छ । यस पुस्तकमा बालबालिकालाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक र असल कसरी बनाउने भन्ने कुरालाई जोड दिइएको छ, जुन सकारात्मक पक्ष हो । बालबालिकालाई डर, धम्की वा कुटपिट गरेर तह लगाउने नभई व्यावहारिक तरिकाले मार्गमा ल्याउन सकिने सन्देश दिनु पनि सकारात्मक पक्ष हो । यो पुस्तक पढ्दै जाँदा अभिभावकले आफ्ना गल्तीहरू महसुस गर्ने मौका पाउने र आफूलाई सच्याउने अवसर पनि पाइन्छ । विद्यालयमा बालबालिकालाई पठाएर मात्र अभिभावकको जिम्मेवारी पूरा हुँदैन, घरको वातावरण पनि मिलाइदिनुपर्छ भन्ने कुरालाई पनि जोडदार रूपमा प्रस्तुत गरेकाले यस पुस्तकमा धेरै सकारात्मक पक्ष पाउन सकिन्छ ।
लेखकलाई सुझाव
समग्रमा पुस्तक सकारात्मक र सन्देशमूलक छ । यसमा विविध पारिवारिक संरचनालाई पनि समेटिएको भए अझै सुनमा सुगन्ध हुने थियो । विशेष क्षमता भएका बालबालिका हुर्काउने क्रममा अभिभावकले भोग्ने तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा थप बुँदा भएको भए त्यस्ता अभिभावकलाई सहज हुने थियो । निम्नवर्गीय अभिभावकले यस्ता विषयलाई कसरी सहज बनाउने भनी फरक फरक तरिकाको विकल्प पनि दिएको भए राम्रो हुने थियो ।
शिक्षा तथा सन्देश
अहिलेका बालबालिकामा बढेको जिद्दीपना, रिसालु व्यवहार, ढाँट्ने बानी, मोबाइलको लत आदिलाई व्यावहारिक रूपले कम गर्नुपर्छ भन्ने शिक्षा यस पुस्तकले दिएको छ । यो पुस्तकले गाली गरेर तथा पिटेर नराम्रा लत हटाउन सकिँदैन, उनीहरूलाई रचनात्मक काममा व्यस्त बनाउने र अभिभावकले पनि बालबालिकाको लागि समय मिलाउनुपर्छ । अभिभावक बालबालिकाको शासक बन्ने होइन, साथी बनेर सकारात्मक बाटोमा हिँडाउन सकिन्छ भन्ने सन्देश पनि यस पुस्तकले दिएको छ । हरेक कुरालाई सकारात्मक रूपले हेरेमा समस्याको समाधान हुन्छ भन्नेप्रति पुस्तकले जोड दिएको छ ।
आमाबुबा बालबालिकाका लागि हातेपुस्तिका हुन्, जसले नानीबाबुको सुन्दर भविष्य र उनीहरूको बाल्यकाललाई भयमुक्त बनाउन अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । यसलाई हरेक घरका परिवारले अध्ययन गरेर आफ्ना नानीबाबुलाई मार्गदर्शन र भविष्यको सुन्दर सपना पूरा गर्न लाग्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । म आफैँले पनि दुई बाबुहरूलाई हुर्काएर परिपक्व बनाइसकेकी र अहिले पुस्तक पढ्ने क्रममा केही न केही गल्ती गरेकी रहेछु भन्ने महसुस भएको छ । आफ्नै गल्तीका कारणले आफ्ना बाबुहरूलाई केही क्षेत्रमा सोचेजस्तो बनाउन सकिएन कि भन्ने भान पनि नभएको होइन । समग्रमा सबैले बुझौं अनि मनन गरौं ।
(लेखक बेबिलोन नेशनल स्कुलमा अभिभावक संयोजक हुनुहुन्छ ।)


