
काठमाडौँ । काँडाघारीस्थित अक्षरा स्कुलको प्राङ्गण माघ १६ गते अलि भिन्न देखिन्थ्यो। आधुनिकताको दौडमा रमाइरहेका कलिला हातहरूले जब सारङ्गीको तार र मादलको ताल समाते, तब लाग्थ्यो— हाम्रो मौलिकता नयाँ पुस्ताको काँधमा सुरक्षित हुँदैछ।
कक्षा ८ का विद्यार्थीहरूको सक्रियतामा आयोजित ‘अक्षरा लोक दोहोरी साँझ’ केवल एउटा विद्यालयको कार्यक्रम मात्र रहेन, यो नेपाली लोक संस्कृतिको संरक्षण र संवर्द्धनका लागि एउटा बलियो इँटा सावित भयो।
सहिदको स्मरण र उद्घाटनको गौरव
माघ १६ अर्थात् सहिद दिवस। कार्यक्रमको सुरुवात राष्ट्र, राष्ट्रिय एकता र ती महान् सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेटको मौन धारणबाट भयो। संस्कारलाई केन्द्रमा राख्दै संस्कृत गुरु योगराज सापकोटाको मन्त्रोच्चारणका बीच प्रधानाध्यापक मिलन केसी लोप्चन र अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत उद्घाटन गर्नुभएको थियो।
अग्रजलाई सम्मान, नयाँलाई प्रेरणा
कार्यक्रमको सबैभन्दा सुखद पक्ष अग्रज कलाकारहरूको उपस्थिति र उनीहरूलाई गरिएको सम्मान थियो। नेपाली लोक सङ्गीत आकाशका नक्षत्रहरू लोक गायक घमेश दुलाल र लोक गायिका आशा तामाङ (लामा) लाई नगद सहित विशेष सम्मान गरियो। ‘कथाले मागेको लोक दोहोरी’ र ‘रातो रातो गाला’ जस्ता चर्चित गीतकी गायिका आशा लामा र ज्ञानमालाको उपस्थितिले विद्यार्थीहरूमा छुट्टै उत्साह थपेको थियो।
गुरुआमा सिमा झाद्वारा गरिएको सम्मान र खादा अर्पणले कला र कलाकारप्रतिको श्रद्धा झल्काउँथ्यो।
”संस्कार र संस्कृति नै हाम्रो पहिचान” – निर्देशक अञ्जु भट्टराई
विद्यालयकी निर्देशक अञ्जु भट्टराईले आफ्नो मन्तव्यका क्रममा शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित राख्न नहुनेमा जोड दिनुभयो। उहाँका अनुसार:
”हाम्रा बालबालिकाहरूले विश्वबजारमा प्रतिस्पर्धा गर्न त सक्नुपर्छ नै, तर आफ्नो जग बिर्सनु हुँदैन। ‘अक्षरा लोक दोहोरी साँझ’ मार्फत विद्यार्थीहरूले हाम्रो माटोको सुगन्ध र मौलिक भाका बुझ्ने अवसर पाएका छन्। यो उनीहरूको व्यक्तित्व विकासको एउटा महत्वपूर्ण पाटो हो।”
’बल्ल पर्यो निरमाया’ र विद्यार्थीको प्रस्तुति
५० को दशकमा तीर्थबहादुर गन्धर्वले ल्याएको र पछि मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले चर्चित बनाएको सामाजिक चेतनाको गीत ‘बल्ल पर्यो निरमाया’ मा विद्यार्थीहरूले बेजोड प्रस्तुति दिए। विद्यार्थीहरू आफैँले वाद्यवादन सम्हालेका थिए भने केहीले मौलिक नृत्यमार्फत दर्शकलाई मन्त्रमुग्ध पारे।
पृन्सिपल मिलन लोप्चन, शैक्षिक निर्देशक विष्णु पनेरु र तहगत संयोजकहरूको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ— यदि अवसर पाए भने नयाँ पुस्ता आफ्नो संस्कृति जोगाउन सक्षम छ।
अक्षरा स्कुलको यो जमर्कोले लोक दोहोरीलाई केवल ‘पाका पुस्ताको गीत’ मात्र नभई ‘नयाँ पुस्ताको गर्व’ बनाउन सफल भएको छ।