काठमाडौं — सरकारले सामाजिक सञ्जालको नियमनमा ऐतिहासिक कदम चालेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता प्रक्रिया पूरा नगरेका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ, जसमा फेसबुक, युट्युब र एक्स (पूर्व ट्विटर) जस्ता लोकप्रिय प्लेटफर्महरू पनि समावेश छन्।
सरकारले सात दिनको समयसीमा तोकेर सबै सामाजिक सञ्जाललाई अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको थियो।
मन्त्रालयका अनुसार, दर्ता प्रक्रिया पूरा नगरेका प्लेटफर्महरू अब नेपालमा अवरुद्ध गरिने छन्। यसबीच, टिकटकले भने समयमै दर्ता प्रक्रिया पूरा गरिसकेको हुँदा यसको सेवा यथावत् सञ्चालनमा रहनेछ।
सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले भने, “डिजिटल माध्यमको प्रयोग अब कानुनी दायरामा ल्याउन आवश्यक छ। अभिव्यक्ति स्वतन्त्रता कायम राख्दै जिम्मेवार प्रयोग सुनिश्चित गर्नु हाम्रो लक्ष्य हो।”
यस निर्णयले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू, सामग्री निर्माता, र डिजिटल व्यवसायमा संलग्न पक्षहरूमा व्यापक प्रभाव पार्ने देखिएको छ। कतिपयले यसलाई नियमनको नाममा नियन्त्रणको प्रयास भन्दै आलोचना गरिरहेका छन् भने सरकार समर्थितहरूले डिजिटल क्षेत्रको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने सकारात्मक पहलका रूपमा हेरेका छन्।

