भक्तपुर — लेखक तथा पत्रकार दामोदर न्यौपानेका तीन कृतिमाथि विमर्श भएको छ। भक्तपुरस्थित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा आयोजना गरेको ‘आभाष–प्रथम संवाद’ कार्यक्रममा न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, स्कुल बेच्ने बालक, र सम्पदा लडाइँ : सभ्यता, पहिचान र राष्ट्रियता कृतिमाथि बहस गरिएको हो ।

पुस्तकालय दिवसको अवसर पारेर गरिएको आभाषको पहिलो संवाद श्रृंखलाको संयोजन ख्वप लिटरेचर सर्कल र नलेज शेयरिङ सर्कलले गरेका थिए। पुस्तकालय प्रमुख जसतारा कोजुले कार्यक्रमको महत्वबारे प्रकाश पारेकी थिइन्। आयोजकको तर्फबाट पूर्वविद्यार्थी साधना केसीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो।

कर्मः सिकाइमा गहिरिएको खाडलमाथि बहस

कम्प्युटर विभागका विद्यार्थी जयदेव त्रिपाठीले दामोदर न्यौपानेको कर्म कृतिको समीक्षा प्रस्तुत गरे। उनले यो पुस्तकले समाजलाई बुझ्ने र आफ्नो शिक्षालाई व्यवहारमा उतार्ने दृष्टिकोण स्पष्ट रूपमा दिएको बताए। पुस्तकको ट्यागलाइन सिकाइमा गहिरिएको खाडल ले शिक्षामा रहेका विभिन्न असमानताहरूलाई उजागर गरेको उनको भनाइ थियो। अपाङ्गता भएका व्यक्तिहरूको सिकाइमा देखिएका कठिनाइहरू, सुगम र दुर्गम क्षेत्रका विद्यालयबीचको भिन्नता, तथा सरकारी र निजी विद्यालयका विद्यार्थीको मनोविज्ञानमा आएको फरकलाई पुस्तकमा चित्रण गरिएको छ। त्रिपाठीले पुस्तक पढेपछि आफूले समाजको समस्या समाधानमा इन्जिनियरिङ शिक्षाको भूमिकालाई अझ गहिरो रूपमा बुझेको अनुभव सुनाए।

स्कुल बेच्ने बालक

कम्प्युटर विभागकै अर्का विद्यार्थी सञ्जीव कास्तीले स्कुल बेच्ने बालक कृतिको समीक्षा गर्दै यसले शिक्षाको गहिराइलाई उजागर गरेको बताए। उनले पुस्तकको शीर्षकले एक विद्यार्थीले स्कुल बेचेको जस्तो लागे पनि, यसले वास्तवमा स्कुल, बालक र अभिभावकबीचको सम्बन्धलाई गहिराइमा बुझाउने प्रयास गरेको स्पष्ट पारे। यो पुस्तकले विद्यालय मात्र नभई घरबाट पाइने शिक्षा, संस्कार, र विद्यार्थीको मनोविज्ञानले शैक्षिक विकासमा पार्ने प्रभावलाई जोड दिएको छ। सञ्जीवका अनुसार यो पुस्तक विद्यार्थी मात्र नभई शिक्षक, प्राध्यापक र अभिभावकले पनि पढ्न आवश्यक छ, ताकि उनीहरूले विद्यार्थीको मर्म बुझ्न सकून् र पाठ्यक्रमलाई व्यवहारिक रूपमा कसरी लैजान सकिन्छ भन्ने कुरा जान्न सकून्।

सम्पदा लडाइँ : सभ्यता, पहिचान र राष्ट्रियता

कार्यक्रममा कलेजका वरिष्ठ प्राध्यापक मोहनमूर्ति पन्तले न्यौपानेको सम्पदा लडाइँ कृतिमाथि समीक्षा प्रस्तुत गरे। उनले यस पुस्तकमा वागदरबार, ज्याठाको अशोक चैत्य, व्यायाम मन्दिर र बौद्ध स्तूपजस्ता सम्पदाहरूको संरक्षणमा देखिएका चुनौतीबारे लेखिएका लेखहरूले आफूलाई प्रभावित पारेको बताए। उनका अनुसार न्यौपानेले ३५ वर्षसम्म अदालतमा लडेर अशोक चैत्यको संरक्षण गरेका, ज्याठाकै व्यायाम मन्दिरको जग्गा फिर्ता गर्न गरेको संघर्ष, र बौद्ध स्तूपको पुनर्निर्माणमा देखिएका प्राविधिक कमजोरीहरूको सूक्ष्म विश्लेषण गरेका छन्। प्राध्यापक पन्तले यस्ता अभियानहरूको कारणले मात्रै हामीले हाम्रा सम्पदा र तिनको इतिहासबारे जानकारी पाउन सकेकोमा जोड दिए।

यसरी, दामोदर न्यौपानेका कृतिहरूले शिक्षालाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई समाज र सम्पदाको संरक्षणसँग जोड्ने एक सशक्त माध्यमको रूपमा प्रस्तुत गरेका छन्। यो कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षाको वास्तविक अर्थ बुझाउनुका साथै उनीहरूलाई समाज र देशको सम्पदाप्रति जिम्मेवार बनाउने सन्देश दिएको छ।

दोस्रो सत्रमा सम्पदा र शिक्षामाथि केन्द्रित भएर लेखक न्यौपानेसँग प्रश्नोत्तर गरिएको थियो। शिक्षामाथि कम्प्युटर इन्जिनियरिङका विद्यार्थी उपेन्द्र शाही, जयदेव त्रिपाठी र सञ्जिव कास्तीले बहस चलाएका थिए । सम्पदामाथि आर्किटेक्चर विभागका विद्यार्थी अस्मिता कस्ती, श्रीजलमान श्रेष्ठ र श्रेणी दाहालले वहस चलाएका थिए ।

क्याम्पसका उपप्राचार्य सुवेगमान बिजुक्छेँ प्रायः मानिसहरूको मानसिकतामा शिक्षालाई कक्षाकोठामा सीमित ज्ञानको रूपमा बुझ्ने चलन रहेको बताए। तर वास्तविक शिक्षा त्योभन्दा धेरै फराकिलो भएको उनको भनाइ थियो। “वास्तविक शिक्षा भनेको कक्षाकोठामा प्राप्त ज्ञानलाई सामाजिक मूल्य र मान्यतासँग जोड्दै जीवनका अभाव र आवश्यकताहरू पूरा गर्ने अभ्यासमा प्रयोग गर्नु हो,” उनले भने। “यसबाट प्राप्त अनुभवलाई आत्मसात् गर्दै जीवनको चक्रलाई निरन्तरता दिनु नै शिक्षाको सार हो।”

Author

Share.
Leave A Reply

Exit mobile version