शैलेश श्रेष्ठ

क्यानडा, १६ भदौ ।

राजनीतिक नेतृत्वमा निष्कलंकता अनिवार्य हो
राजनीति गर्ने व्यक्तिहरू चारित्रिक, नैतिक र वित्तीय रूपमा यस्तो निष्कलंक हुनुपर्छ कि जीवनको कुनै पनि कालखण्डमा उठाइने प्रश्नको सामना गर्न सकून्। अमेरिका र क्यानाडामा यस्ता मूल्यहरू बेन्चमार्कका रूपमा स्थापित छन्। न्युयोर्क राज्यका तीन सेता हात्तीहरू—गभर्नर, मेजोरिटी लिडर र एसेम्बली स्पिकर—बित्तीय, चारित्रिक र नैतिक धरातलमा चुकेपछि सार्वजनिक रूपमा ढलेको दृश्य म आफैंले देखेको छु।

अमेरिकाका अपवादहरू

ट्रम्प र क्लिन्टनको कथा
गभर्नर एलिएट स्प्रित्जर वेश्यागमनको कारण राजनीतिबाट समाप्त भए। अर्का गभर्नर एन्ड्रु क्वोमो यौनजन्य हिंसाको आरोपमा राजीनामा दिन बाध्य भए। न्युयोर्क सहरका मेयर एरिक आडम्स बित्तीय अपचलनमा दोषी ठहर भए पनि ट्रम्पसँगको सौदाबाजीले जेलबाट जोगिए। तर मतदाताले उनलाई पुनः अनुमोदन गरेनन्। डोनाल्ड ट्रम्पमाथि वेश्यागमन, बित्तीय बिचलन र अन्य आरोपहरूका प्रमाण अदालतमा पुगे पनि उनी अहिलेसम्म बच्न सफल छन्। बिल क्लिन्टन मोनिका लिविन्स्कीसँगको एक्स्ट्रा म्यारिटल अफेयरमा श्रीमती हिलारी क्लिन्टनको क्षमाशीलता र कृपाले बालबालले बचे। यी दुई घटना अमेरिकी इतिहासमा अपवादका रूपमा रहन्छन्।

नेपालमा भ्रष्टाचारको सामान्यीकरण : नियमित आकस्मिकता
नेपालमा राजनीतिमा प्रवेशसँगै नैतिक, चारित्रिक र वित्तीय अनुशासनहिनता सामान्य मानिन्छ। पुराना भ्रष्ट नेताहरूको निरन्तरता त छँदैछ, तर नयाँ पुस्ताका नेताहरू पनि त्यही दलदलमा फस्दै गएका छन्। रास्वपाका जननी रवि लामिछानेको उदयले नैतिक प्रश्नहरू उठे पनि जनताले ती प्रश्नलाई गम्भीरतापूर्वक लिएनन्। उनका अनुयायीहरूले आलोचकहरूलाई गालीगलौज र मानमर्दन गरे।

डिजिटल युगको प्रियताबाद

डरको नयाँ स्वरूप
राणा शासन, शाहबंशीय र पंचायती निरंकुशतामा पनि प्रश्न गर्ने जनता अहिले लोकप्रियता र डिजिटल सेनासँग डराउन थालेका छन्। डीपफेक सामग्री, साईबर सेनाहरू, भाटे कारवाही र कंगारु कोर्टले लोकतान्त्रिक संवादलाई धम्क्याउने माध्यम बनाएका छन्। माओवादी सशस्त्र आन्दोलनभन्दा पनि डरलाग्दो यो डिजिटल अराजकता हो।

रास्वपाको प्राइमरी मोडल : आशा र विवादको संगम
रास्वपाले सुरु गरेको उम्मेदवार छान्ने प्राइमरी मोडल प्रशंसनीय छ। ९ मध्ये ४/५ जनासँगको प्रश्नोत्तर सुन्दा एकसेएक सक्षम उम्मेदवार देखिए। तर डा. लेखजंग थापाको छनोटले विवाद जन्माएको छ। सेतोपाटीका अनुसार, लेखजंग थापाले दुई श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह कायम राखेको देखिन्छ। गोप्य चस्मा प्रयोग गरेर बैठक रेकर्ड गरेको आरोपमा आठ जनाले उजुरी दर्ता गराएका छन्। उक्त उजुरीमा अनुशासन उल्लंघन, गोप्य रणनीति रेकर्ड गर्ने, र व्यक्तिगत जीवनमा असर पार्ने कार्यको उल्लेख छ।

अभ्यास राम्रो छ, तर मूल्यमा प्रश्न उठ्न थालेको छ
जान्नेलाई छान्ने पार्टीका पढेलेखेका व्यक्तिले यस्ता कार्य गरे भन्ने विश्वास गर्न गाह्रो छ। नेपाली राजनीतिमा तिकडम र चलखेल त सामान्य भए पनि रास्वपाले सुरु गरेको उम्मेदवार छान्ने मोडल र मानक उम्दा छन्। राम्रो अभ्यासको अनुकरण अरू पार्टीले गर्दा बिग्रँदैन—तर अभ्यासमा नैतिकता र पारदर्शिता कायम राख्न सकिएन भने त्यो पनि अर्को नियमित आकस्मिकता बन्न सक्छ।

Author

Share.
Leave A Reply

Exit mobile version