काठमाडौ, १३ भदौ ।
हरितालिका तीज को अवसरमा पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको समीक्षा बैठक मा तिजको ब्यबस्थापन राम्रो भएको धेरै दाबी गरे । तर सम्पदा संरक्षण अभियन्ताले सम्पदा संरक्षणको संवेदनशीलता र धार्मिक मर्मप्रति गम्भीर नभएको भन्दै प्रश्न उठाएका छन । पत्रकार अर्जुन लामिछानेले पुरातत्त्वको मूल मर्मतर्फ ध्यान खिचेका छन्।
पवित्र परिसरमा पानीको फोहोरा : सुविधा कि विघात ?
लामिछानेले पशुपति बाहिरी परिसरमा पानीको फोहोरा प्रयोग गरी चिस्याउने कार्यलाई पुरातात्त्विक दृष्टिकोणबाट गम्भीर त्रुटि भएको बताएका छन्। उनका अनुसार, यस्तो कार्यधार्मिक वातावरणमा कृत्रिम हस्तक्षेप पनि हो।
उनले लेखेका छन्—“पशुपति प्राङ्गण जतिसक्दो छिटो खाली गराउने हो, एयर कुलर या कुनै प्रविधिले चिसो बनाएर भक्तजनलाई त्यहाँ आकर्षित गराउने, लामो समय रोक्ने होइन।”
लामिछानेले पुरातत्त्व विभागसँग समन्वय गरिसकेको जानकारी दिँदै कोषलाई यस्ता कार्यलाई प्रसय नदिन आग्रह गरेका छन् ।
सुधारको प्रतिबद्धता
पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाष चन्द्र जोशीको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, सामुदायिक प्रहरी, महानगर प्रहरी लगायतका सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
गौशाला प्रहरी वृत्तका प्रमुख सुकदेव खनालले शौचालयको थप व्यवस्था, सिसीटीभीको विस्तार लगायतका सुधारका बुँदागत सुझावहरू प्रस्तुत गरे।
सदस्यसचिव जोशीले प्रस्तुत सुझावहरूलाई आगामी दिनमा सक्दो कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै मेला व्यवस्थापनमा सहयोग पुर्याउने सम्पूर्ण पक्षलाई धन्यवाद दिए।
तीज पर्वको व्यवस्थापनमा कोषले प्रयास गरेको देखिए पनि अर्जुन लामिछानेको टिप्पणीले देखाएको पुरातात्त्विक चेतना अबको योजनामा समावेश हुन जरुरी देखिन्छ।
वेदान्तको दृष्टिमा, सुविधा र श्रद्धा सँगसँगै जानुपर्छ। पशुपति क्षेत्रको पवित्रता केवल भक्तजनको भीडले होइन, संरचनाको सम्मानले कायम रहन्छ । आधुनिकता र व्यवस्थापनको नाममा मर्मविपरीत हस्तक्षेप नगरी, संरक्षणलाई धर्मको रूपमा आत्मसात् गर्नु आजको आवश्यकता हो ।

