डा. विनुबाबा अर्याल
लक्ष्मी धनकी अधिष्ठात्री देवी, भगवती शक्तिकी अधिष्ठात्री देवी हुन् भने सरस्वती विद्या र ज्ञानकी अधिष्ठात्री हुन् । आर्य जातिलाई चिरकाल जीवित राख्ने सनातन धर्म संस्कृतिको परम्परा अगणित पूर्वकालदेखि चलिआएको छ । यसको मूल आधारशिलाको रूपमा वैदिक धर्मग्रन्थहरू छन्। वेदको आदिकाल विषयमा अनुसन्धान गर्दा आजसम्म टुङ्गो लगाउन नसकी प्राच्य–पाश्चात्य समस्त विद्वान्हरू विश्वभरका यावत् वाङ्मय मध्यमा सर्वप्रथम वेद नै हो भन्ने सिद्धान्तलाई सहर्ष स्वीकारेर सहमत भएका छन्।
तर, आजको द्रुत परिवर्तनशील युगमा, जब सूचनाको महासागरले हामीलाई घेरेको छ, के हामी विद्या र ज्ञानको वास्तविक महत्वलाई बुझिरहेका छौँ ? के हामी केवल भौतिक सम्पत्ति र शक्तिको पछि लाग्दै ज्ञानको मूल मर्मलाई बिर्सिरहेका त छैनौँ ? सरस्वतीको उपासना केवल कर्मकाण्ड मात्र होइन, यो अज्ञानताको अन्धकार हटाएर विवेक र चेतनाको ज्योति फैलाउने एक आह्वान हो।
शक्तिको उपासना: सृष्टिको आधार
शक्तिको उपासना सृष्टिको आरम्भदेखि भएको पाइन्छ । भगवान् शिव स्वयं भन्नुहुन्छः
‘शक्तिविना महेशानि सदाऽऽशवरूपक: शक्तियुक्तो यदा देवी शिवोऽहं सर्वकामद : ।’
(शक्तिविना म शक्तिहीन मृत्युतुल्य हुन्छु । जब म शक्तिले युक्त हुन्छु, तब म सबैको कल्याण गर्न समर्थवान् बन्दछु ।)
ब्रह्मामा सिर्जना गर्ने शक्ति, विष्णुमा संरक्षण गर्ने शक्ति र शंकरमा संहार गर्ने शक्ति भगवती जगदम्बाको कृपाबाट नै प्राप्त हुन्छ । यिनै जगदम्बाकाद्वारा विभिन्न कार्यहरू सम्पादन गर्नका लागि लिइएका अवतारहरूमध्ये महाकाली, महालक्ष्मी र महासरस्वती यी तीन अवतारहरू मुख्य रूपले मानिएका छन् ।
महाकालीद्वारा महिषासुरको वध तथा जीवनका शत्रुहरूको संहार गर्नुहुन्छ । महालक्ष्मीद्वारा चण्ड र मुण्डको वधका साथै जीवनमा सम्पन्नता प्रदान गर्नुहुन्छ भने महासरस्वतीद्वारा शुम्भ–निशुम्भ जस्ता अत्याचारी दैत्यहरूको वध गरी धर्म, संस्कृति र विद्या (महाविद्या) को संरक्षण गरी अधुरो जीवनलाई पूर्णता दिनुहुन्छ । अर्कोतर्फ, ब्रह्मालाई सृष्टि गर्नका लागि ज्ञान र विद्या आवश्यक पर्ने हुनाले सरस्वतीलाई विद्याकी देवी, पालन र सञ्चालनको लागि धन, ऐश्वर्य आदि भौतिक वस्तुहरू आवश्यक पर्ने भएकोले धनकी देवीको रूपमा महालक्ष्मी र त्यसलाई लय अर्थात् नाश गर्न बलशक्ति आवश्यक पर्ने हुनाले शक्तिस्वरूपा महादेवीहरूले शक्तिदेवीको रूप लिई कार्य गरेको पाइन्छ ।
सरस्वतीको उपासना केवल कर्मकाण्ड मात्र होइन, यो अज्ञानताको अन्धकार हटाएर विवेक र चेतनाको ज्योति फैलाउने एक आह्वान हो।
महासरस्वतीको उत्पत्तिः ज्ञानको उज्यालो
महासरस्वतीको उत्पत्तिको कथा मार्कण्डेयपुराणमा यस प्रकारबाट वर्णित छः प्राचीन कालमा शुम्भ र निशुम्भले इन्द्रको आसन छिन्नेकोले ती देवताहरूले आफ्नो अधिकार प्राप्त गर्न देवीको प्रार्थना गरे। देवीको शरीरबाट चण्डिकाको प्राकट्य भयो । देवी र दानवहरूको बीचको घमासान युद्धमा जति थोपा रगत भुइँमा खस्दथ्यो, उत्तिनै दानवहरूको प्राकट्य हुन्थ्यो । तब चण्डिकाले कालीलाई भुइँमा रगत झार्नै नदिई पिउने आदेश दिइन् । यो आदेश बमोजिम कालीले सबै रगत पिइन् । यसबाट देव पक्षले जित्यो । यो रूप महासरस्वतीको हो । ज्ञान र विद्याको वर्ण उज्यालो हुन्छ । अज्ञान र अविवेक रूपी अन्धकारलाई नष्ट गर्ने पर्दछ । महासरस्वतीको प्रतीक यही नै हो ।
सरस्वतीको नाम ऋग्वेदमा पवित्र नदी वा जल देवीको प्रसंगमा आएको पाइन्छ । यिनलाई ज्ञानकी देवी या वाग्देवीको रूपमा मानिन्छ । विद्या तथा सम्पूर्ण कलाकी देवी सरस्वती वैदिक युगमा नदीको रूपमा प्रसिद्ध थिइन् ।
यजुर्वेदमा पनि यश र ऐश्वर्य प्रदान गर्ने वाणी, ज्ञान र विद्या प्राप्त होस् भन्ने कामना गर्दै उनलाई यशोभगिनी अर्थात् कीर्तिप्रदायक देवीका रूपमा पुकारेको देखिन्छ । यसरी सरस्वती देवीको नेपाली समाजमा विशिष्ट स्थान छ ।
ज्ञानको महिमा: गीता र हितोपदेशमा
गीतारूपी अमृतवचनबाट श्रीकृष्ण भन्नुहुन्छः ‘न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते । तत्स्वयं योगसंसिद्धिः कालेनात्मनि विन्दति ।’ (४ः३८) संसारमा ज्ञान जस्तो पवित्र कुरा केही छैन । त्यस दिन ज्ञानको लागि मात्र नभएर त्यस दिनलाई पवित्र सम्झेर व्रतबन्ध, विवाह आदि गर्दा कुनै साइत जुराई हेरिरहनु नपर्ने हाम्रा धार्मिक मान्यताहरू प्रचलनमा स्थापित छन् । अन्य दिनहरूमा कुनै शुभ साइत नजुरेमा यसै दिन शुभ साइत मानी त्यस्ता शुभकार्यहरू गरिन्छ ।
स्वयम्भू पुराणको बुद्धवचन अनुसार श्रीपञ्चमीका दिनलाई मञ्जुश्री पञ्चमी पनि भनिन्छ । यस दिन स्वयम्भूस्थित मञ्जुश्रीलाई हिन्दुहरूले सरस्वतीका रूपमा पूजा आराधना गर्ने गर्दछन् । कतिपय बौद्ध साहित्य र स्वयम्भू पुराणमा पनि सरस्वतीलाई मञ्जुश्रीको पत्नीको रूपमा पनि वर्णन गरिएको पाइन्छ ।
सरस्वतीका प्रिय वस्तुहरूमध्येमा नौनी, लावा, दूध, सेतो तीलको लड्डु, सेतो उखु, केरा, बेल, नरिवल, घिउ, भुटेको पिठो आदि छन् ।
‘विद्या ददाति विनयं विनयाद्याति पात्रताम्। पात्रत्वाद् धनम् आप्नोति धनाद् धर्म ततः सुखम् ।’
(हितोपदेश प्रस्ताविका श्लोक ६) भनिन्छ, विद्याले विनय (शालीना) दिन्छ, विनयले पात्रता (योग्यतासहितको विश्वसनीयता) दिन्छ । पात्रताको उपयोगले धन आर्जन हुन्छ, धनको सदुपयोग गरेर धर्म प्राप्त गर्न सकिन्छ र धर्मको कारणले सुख प्राप्त हुन्छ ।
ज्ञान नै मुक्तिः वास्तविक साधना
हामी वैदिक सनातन धर्मावलम्बीहरूले सरस्वतीको पूजा आराधना उपासना गर्नुका साथसाथै सरस्वतीको तथ्य–सत्यलाई बुझ्नु नितान्त आवश्यक छ । जसलाई बुझेर सरस्वतीको मार्गदर्शनको अनुसरण गरेर ज्ञान र विद्याभित्रै ध्यान, आनन्द, रचना र सिर्जनाको बाटोमा लाग्नु नितान्त आवश्यक देखिन्छ ।
धर्मका दश लक्षणहरूमध्ये विद्या आठौँ हो । विद्या आत्मज्ञान हो, कर्म ज्ञानको नाम धी हो र कर्मज्ञानको नाम विद्या हो । ‘म देह हुँ’ भन्ने बुद्धिको नाम अविद्या हो तथा ‘म देह होइन चिदात्मा हुँ’ भन्ने बुद्धिको नाम विद्या हो । ज्ञान भक्तिको पूरक र प्रकाश हो । ज्ञानहीन भक्ति अन्धविश्वासको जननी हुन्छे । यो कुरा ध्रुवसत्य हो । ज्ञान विना मुक्ति हुँदैन । निष्काम कर्मद्वारा चित्त शुद्ध भएपछि ज्ञानद्वारा मुक्ति हुन सक्छ ।
सन्दर्भ सामग्रीः
१. डा. जनार्दन मिश्र, भारतीय प्रतीक विद्या
२. डा. जगदीशचन्द्र रेग्मी, नेपालको धार्मिक इतिहास
३. हरिरराम जोशी, प्राचीन नेपाल
४. डा. प्रमोद ढकाल, पूर्वीय दर्शनको पुनव्र्याख्या
५. प्रा. चेतोनाथ आचार्य, हाम्रा धार्मिक चाडपर्व
६. डा. पेशल दाहाल, नेपालको इतिहास र संस्कृति

