काठमाडौं, मंसिर २७ ।
साहित्यकार शान्तदास मानन्धरको स्मृति ग्रन्थ शुक्रबार धर्मपथस्थित सांस्कृतिक भवनमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, साहित्यकार खगेन्द्र संग्रौला तथा महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले संयुक्त रूपमा ग्रन्थ लोकार्पण गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुलपति सुन्दरले साहित्यकार मानन्धरले नेपाल भाषा, साहित्य र संस्कृति बचाउन देखाएको बाटो अनुकरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले मानन्धरकै योगदानका कारण आजको सार्वजनिक स्थान र सांस्कृतिक चेतना सम्भव भएको बताउनुभयो ।
त्यस अवसरमा वडाध्यक्ष महर्जनले साहित्यकार मानन्धरको करिब २०२३ सालतिर सुरु भएको साहित्यिक जीवन जत्तिकै सामाजिक जीवन पनि अनुकरणीय रहेको स्मरण गर्नुभयो । आयोगका सदस्य मानन्धर, दबुका अध्यक्ष बज्राचार्य र साहित्यकार संग्रौलाले बाल साहित्यमा शान्तदास मानन्धरको लेखन शैली, सामाजिक चेतना र साहित्यिक योगदानलाई विशेष प्रसङ्गका रूपमा प्रस्तुत गर्नुभयो ।
वडा प्रोफाइल सार्वजनिक
सोही कार्यक्रममा काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले आफ्नो वडा प्रोफाइल पनि सार्वजनिक गरेको छ । वडाध्यक्ष मचाराजा महर्जनका अनुसार प्रोफाइलले वडाको अवस्थालाई तथ्यमा उतार्ने प्रयास गरिएको छ, जसले आवश्यकतामा आधारित विकास योजना बनाउन, सेवा प्रवाहलाई व्यवस्थित गर्न तथा बजेटको भार निर्धारण गर्न सहयोग गर्नेछ ।
प्रोफाइलमा स्थायी तथा अस्थायी बासिन्दाको संख्या, जातजाति, रोगबाट प्रभावित व्यक्तिहरु, बेरोजगार तथा स्वरोजगार अवस्था, अपाङ्गता भएका नागरिक, विदेश पलायन, घरपालुवा जनावर, सडक तथा मार्गको अवस्था, घर–भवन, मठमन्दिर, इनार, चोक, स्वास्थ्य सेवा प्रदायक, रेष्टुरेन्ट, किराना पसल, कपडा पसल लगायतका विवरण समेटिएका छन् ।

