काठमाडौँ, २८ कार्तिक .
आगामी निर्वाचनमा महिला र युवाको उपस्थितिमा वृद्धि गर्नुपर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ। ओजस्वी नेपालले आज आयोजना गरेको “राजनीतिक आन्दोलनको जनादेशः महिला र युवाको अर्थपूर्ण सहभागिता” विषयक ‘संवाद’ कार्यक्रममा जेन्जी अगुवा, महिला अधिकारकर्मी र युवाहरूले यस्तो निष्कर्ष निकालेका हुन्।
संवाद कार्यक्रममा महिला अधिकारकर्मी सुरु जोशी, लैङ्गिक अधिकारकर्मी सञ्जोग ठकुरी र जेन्जी अगुवा मोनिका प्यानलिस्टका रूपमा थिए भने विभिन्न सरोकारवाला, दलका प्रतिनिधि र जनप्रतिनिधिबीच सामूहिक अन्तर्क्रिया भएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार दुर्गा कार्कीले गर्नुभएको थियो।
जेन्जीका अभियन्ता मोनिकाले राजनीतिक शुद्धीकरण गर्ने महत्त्वपूर्ण आधार समानतामूलक सहभागिता रहेको बताउनुभयो। उहाँले पछिल्लो समयको जेन्जी आन्दोलनको कारणमध्ये असमान राजनीतिक पहुँचसमेत रहेको सुनाउनुभयो। “जेन्जी समूह एकताबद्ध हुँदै छ, हामीले यहाँ ५२ प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “राजनीतिक दलहरूले पनि आफ्नो पार्टीमा युवा र महिला सहभागिता बढाउनु आवश्यक छ।” यद्यपि आगामी निर्वाचनमा मतदाताको अवस्था हेर्दा महिला र युवाको सङ्ख्या कसरी बढाउने भन्नेतर्फ त्यति ध्यान केन्द्रित नभएको उहाँले बताउनुभयो।
त्यस्तै, महिला अधिकारकर्मी जोशीले आगामी निर्वाचनमा महिलाको पहुँच विस्तार गर्ने माहोल सिर्जना गर्न अनुपम अभियान थालनी गरेको जानकारी दिनुभयो। उहाँका अनुसार अभियानका क्रममा निर्वाचनमा महिलाको चासो र रोजाइ अत्यन्त न्यून देखिएको अनुभव सुनाउनुभयो। “राजनीतिमा महिलालाई कसरी घरबाट बाहिर ल्याउने भन्ने कुरामै चुनौती छ,” उहाँले भन्नुभयो, “निर्वाचनसम्म त आर्थिक, सामाजिक, पारिवारिक पक्षले अवरोध गरेको देखिन्छ। यद्यपि हामी जागरुक अभियानमा जुटेका छौँ।”
कार्यक्रममा अधिकारकर्मी सञ्जोग ठकुरीले भने राजनीतिक क्षेत्रमा महिला सहभागिता वृद्धिमा पितृसत्तात्मक मानसिकता नै बाधक भएको प्रस्ट पार्नुभयो। पछिल्लो समय राजनीतिमा महिला सहभागी गराउने भए पनि शासन सत्ता र नेतृत्वको धारणा पुरुषमै हुनुपर्ने चेतना हावी भएको उहाँको बुझाइ छ।
ओजस्वी नेपालका अध्यक्ष कला राईले राजनीतिमा महिला सहभागिता अनिवार्य रहेको र यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाउनुपर्ने बताउनुभयो। यही अभियानअनुरूप आगामी निर्वाचनमा महिलाको नेतृत्व वृद्धि गर्न अधिकारकर्मी एकजुट भएर आवाज उठाउन आवश्यक रहेको उहाँले सुनाउनुभयो।
सामाजिक अभियन्ता शरद न्यौपानेले निर्वाचित महिला जनप्रतिनिधिहरूको कार्यक्षमता कुशल रहेको प्रतिवेदनले देखाएको बताउनुभयो। महिलाहरू पुरुष नेताभन्दा कम भ्रष्टाचार गर्ने र परिणाममुखी भएको प्रतिवेदनहरू छन् तर ओजस्वी जस्ता संस्थाहरूले यसको केस स्टडी बनाएर आगामी निर्वाचनमा ‘महिला नै किन?’ भनेर वकालत गर्नुपर्ने कुरामा जोड दिनुभयो।
युवा नेता आरती लामाले यस्तो कार्यक्रम त राजनीतिक दलभित्र गर्न पाए परिणाम राम्रो हुने विचार राखिन्। वडा नं ६ की सदस्य गायत्री पुडासैनीले यस्ता बहसहरू महिला तथा दलित महिला सदस्यहरूलाई राखेर युवा भेला गराई विभिन्न पक्षबाट गराउँदा राम्रो हुने विचार व्यक्त गरिन्।
ओजस्वी नेपालका उपाध्यक्ष लक्ष्मी न्यौपानेले सहभागिताको लागि मात्र सहभागिता नभएर अर्थपूर्ण सहभागिताका लागि आफ्नो संस्थाले बहस गरिरहनेछ भन्नेमा जोड दिनुभयो।
