काठमाडौं— नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने चेतावनी दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता सूचीकरण नभएका सामाजिक सञ्जालहरू बिहीबारदेखि बन्द गर्ने निर्णय गरेपछि महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदम संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकमा प्रत्यक्ष हस्तक्षेप भएको ठहर गरेको हो।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मात्र होइन, नागरिकको सूचनाको हकमा समेत गम्भीर असर पर्न सक्छ भन्ने पक्षमा सरकार गम्भीर छैन भन्ने देखिन्छ।”
महासंघले सामाजिक सञ्जालको नियमन आवश्यक रहेको स्वीकार गरे पनि प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी कुनै पनि माध्यममाथि नियन्त्रणको पक्षधर नरहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा थप भनिएको छ, “नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउनुपर्छ।”
महासंघले सम्बद्ध पक्षसँग गहिरो संवाद र संवैधानिक मूल्य मान्यताको आधारमा नीति निर्माण गर्न आग्रह गर्दै लोकतन्त्रको मर्मअनुसार अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न सरकारलाई सचेत गराएको छ।
