काठमाडौँ, १४ भदौ ।
पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। पुतलीसडकस्थित ग्रीन लिफ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता प्रा.डा. गोविन्दराज भट्टराईले गरेका थिए भने प्रमुख अतिथिका रूपमा डा. तुलसीप्रसाद भट्टराई उपस्थित थिए। प्रमुख वक्ताको भूमिका प्रा.डा. कुमारप्रसाद कोइरालाले निर्वाह गरेका थिए ।
वियोगीको ‘सत्यम्’मा समेटिएका १५ कथाहरूमा समालोचकहरूले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरे। डा. अशोक थापा, डा. शोभा ढुंगाना, टेकनारायण ढकाल, जानुका खतिवडा र देवी तिमल्सिनाले कथाहरूको भाषिक शैली, कथानक संरचना, पात्रको गहिराइ र सामाजिक सन्देशबारे समालोचनात्मक टिप्पणी गरे।
समालोचक महेश पौड्यालले कथासङ्ग्रहले समाजमा खण्डित हुँदै गएको सत्यको व्यङ्ग्यात्मक चित्रण गरेको विश्लेषण गरे। प्रमुख वक्ता कोइरालाले कथाहरूमा माओवादी द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन, पर्यावरण, विज्ञान र सामाजिक यथार्थको सशक्त प्रस्तुति रहेको बताए।
कृतिकार वियोगीले ६० प्रतिशत कथाहरू आफ्नै देखे–भोगेका घटनामा आधारित रहेको र बाँकी कलात्मकता थपिएको जानकारी दिए। प्रमुख अतिथि डा. भट्टराईले वियोगीको लेखनशैलीले उत्कृष्टताको नमुना प्रस्तुत गरेको भन्दै आगामी दिनमा उपन्यास लेखनतर्फ उन्मुख हुन सुझाव दिए।
कार्यक्रममा साहित्यकार, पत्रकार, कवि तथा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

